प्रधानमन्त्रीको चीन भ्रमणस“गै दमक औद्योगिकको काम शुरु हुनेमा स्थानीय आशावादी

प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला चीनको पाँचदिने औपचारिक भ्रमणमा रहनु भएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणले विगत चार बर्षदेखि थाँति रहेको चाइना–नेपाल फ्रेण्डसीप इण्डष्ट्रियल पार्क (दमक औद्योगिक पार्क) को कामले गति लिनेमा दमकका स्थानीयहरु आशावादी देखिएका छन् ।
चीनको लगानीमा बन्ने र चार बर्ष अगाडि प्रधानमन्त्री ओलीद्वार नै शिलान्यास भएको दमक औद्योगिक पार्क दक्षिण एसियाकै सबैभन्दा ठूलो हुने चर्चा चल्दै आएको छ । शिलान्यास भएर पनि नेपालको राजनैतिक अस्थिरताका कारण औद्योगिक पार्कको भौतिक कामहरु अगाडि बढ्न सकेको छैन ।
दमक नगरपालिकाको स्वामित्वमा रहेको रतुवा खोला किनारको झण्डै ९ सय विगाहा जग्गा, कमल गाउँपालिका र गौरादह नगरपालिकाका स्थानीयहरुको जग्गा अधिग्रहण गरी २३ सय विगाह जग्गा औद्योगिक पार्कको नाममा आइसकेको छ । जग्गासँगै पूर्वाधार निर्माणका लागि जग्गाको नापजोखसँगै स्वाइल टेष्ट लगायत सम्पूर्ण कानूनी प्रक्रियाहरु समेत पूरा भइसकेको छ । प्रारम्भमा औद्योगिक पार्कको डिपिआर बनाउन, अधिग्रहण गरिएका सर्वसाधारणको जग्गाको मुआब्जा विवाद, औद्योगिक पार्कका विरुद्ध स्थानीयले सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदन जस्ता कारणले पनि निर्माण प्रक्रियामा अवरोध भएको थियो । अब पार्क निर्माणमा कुनै प्रकारको कानुनी झमेला नभएकोले पार्कका निर्माण कार्य प्रधानमन्त्री ओलीको भ्रमणसँगै अगाडि बढ्नेमा स्थानीयहरु विस्वस्त भएका हुन् । त्यसै पनि दमक औद्योगिक पार्क प्रधानमन्त्री ओलीको ड्रिम पोजेक्ट हो । उहाँले दमक औद्योगिक पार्कलाई विकासको पहिलो प्राथमिकतामा राख्दै आउनु भएको छ । सत्तारुढ गठबन्धन सरकारको कार्यदलको बैठकले समेत दमक औद्योगिक पार्कलाई प्राथमिकतामा राखेको छ । औद्योगिक पार्कसँगै कार्यदलको बैठकले अन्य ६ वटा परियोजनाहरु निर्माणका लागि चीनसँग आग्रह गर्ने निर्णय गरिसकेको छ । त्यस्ता अन्य ६ वटा परियोजनाहरुमा एउटा जलविद्युत आयोजना, एउटा ट्रान्समिशन लाइन, मैत्रीपूर्ण पार्क, स्पोर्टस एण्ड एथलेक्टिक्स कम्प्लेक्स, मदन भण्डारी विश्व विद्यालय र काठमाण्डौमा साइन्टिफिक सेन्टर एण्ड साइन्स म्युजियम रहेका छन् । यी सम्पूर्ण योजना चीनले अनुदानमा निर्माण गरिदिन आग्रह गर्ने निर्णय समेत भएपनि प्रधानमन्त्री ओलीले औद्योगिक पार्कलाई सर्वथा प्राथमिकतामा राख्नु भएको छ । पार्क बन्ने स्थल प्रधानमन्त्री ओलीको गृहजिल्लासँगै निर्वाचन क्षेत्र समेत हो । दक्षिण एसियाकै सबैभन्दा ठूलो योजना भएकोले पनि प्रधानमन्त्री ओलीले यसको निर्माणमा चिनियाँ पक्षको ध्यानाकर्षण गर्नेमा स्थानीयहरु ढुक्क देखिन्छन् । विगतमा यही औद्योगक पार्कको मुद्धालाइ उठान गरेर ओलीले आफ्नो निर्वाचन क्षेत्रबाट अत्याधिक मत ल्याएर चुनाव जितेकोले पनि अब ओलीले औद्योगिक पार्कको मुद्धालाई निर्वाचनको मुद्धामात्र बनाउनु नहुनेमा स्थानीयहरुको मत छ । सत्तामा भएको अवस्थामा औद्योगिक पार्कसँगै बौद्ध विश्वविद्यालय, नदी तटबन्धन, आदिवासी रंगशाला निर्माण गर्ने ओली आफ्नो निर्वाचन घोषणापत्रमा नै उल्लेख गर्नुभएको थियो । यसका अलावा दमक भ्यु टावर पनि उहाँको ड्रिम प्रोजेक्ट नै हो जुन हाल निर्माण सम्पन्न भइसकेको छ ।

तपाईको प्रतिक्रिया