विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले कोशी प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु, प्रशिक्षण प्रदायक कार्यालय तथा अन्य कार्यालय प्रमुखहरुसंग भर्चुअल माध्यमद्धारा चौमासिक कार्य सम्पादन समिक्षा गर्नुका साथै आवश्यक निर्देशन समेत दिनु भएको छ ।
मंसिर १३ गते भएको कार्यसम्पादन समिक्षामा कार्यसम्पादन सम्झौता बमोजिम श्रावण महिना देखि कार्तिक महिना सम्म प्रहरी कार्यालयहरुद्वारा गरिएका कार्य प्रगति विवरण सम्बन्धि समिक्षा, छलफल तथा अन्तरक्रिया गर्नु भएको थियो । कार्य सम्पादन समिक्षा तथा प्रगति विवरण अन्तरगत दर्ता भएका मुद्दाको फछर्यौट, प्रमाणमुखि अनुसन्धान, फरार प्रतिवादी पक्राउ, लागुऔषध ओसार पसार तथा प्रयोगलाई नियन्त्रण, साईवर अपराध, आर्थिक अपराध नियन्त्रण, हराएका मानिसहरुको खोजतलास, पहिचान नभएका लाशको पहिचान, अपराध पिडितलाई कारवाहीको प्रगति विवरण सुसुचित, सवारी दुर्घटना न्युनिकरण विशेष पहल, प्रहरीलाई नियमित अभ्यास तथा प्रशिक्षण, सम्वेदनशिल इलाकाहरुमा थप सिसि क्यामेरा जडान तथा स्तर बृद्धि, समुदाय साझेदारी कार्यक्रम अन्तरगत विभिन्न सचेतना कार्यक्रम संचालन लगायतका बिषयहरुमा जिल्ला प्रहरी कार्यालय लगायत मातहत इकाईहरुबाट गरिएका कार्यहरुको समिक्षा गरिएको थियो ।
कार्य सम्पादन सम्झौतामा उल्लेख भएका बुँदाहरु अनिवार्य कार्यान्वय गर्नु पर्ने, सम्पुर्ण प्रहरी कर्मचारीले संगठनको श्रीबृद्धीको लागि विभागीय आदेश निर्देशनको पुर्णरुपमा पालना गरी कार्यान्वयन गर्नु पर्ने, आम नागरिकहरुमा सचेतना अभिबृद्धिको लागि स्थानिय जनप्रतिनिधि, नागरिक समाजहरुसंग समन्वय गरी प्रभावकारीरुपमा कार्यक्रम संचालन गर्नु पर्ने, जिल्लामा परिचालन हुने ग्रामिण तथा लामो गस्तीहरुको प्रभावकारीतामा बिशेष ध्यान दिने, प्रहरीले अनिवार्यरुपमा आम नागरिकको हरेक समस्याहरुमा अग्रणी भुमिका निर्वाह गरी नागरिक सेवामा खटिई समाजमा शान्ति सुरक्षा स्थापित गर्न निर्देशन दिनु भएको थियो ।