तेली समुदायले मनाए जितिया पर्व

धरान । हरेक जातजातिको पर्व अहिले नेपालीको मौलिक पर्व बन्दै गएको छ । एक क्षेत्रमा मनाइने पर्व अहिले मुलुककै तीनै क्षेत्र पहाड, तराई र हिमालमा समेत मनाउन थालिएको छ । आफ्नो् जातिले मनाउने पर्वलाई सबै क्षेत्रमा समिति नै बनाएर पर्वको जगेर्ना गर्ने कामलाई निरन्तता दिन थालिएको हो ।
तराईबासी त्यसमा पनि मधेशी महिलाहरुले आफ्नो सन्तानको सुख, आनन्द र प्रगतिको निम्ति मनाइदै आएको जितिया पर्व विगत दुई बर्ष अगाडि संस्था नै दर्ता गरेर तेली कल्याण समाज धरानले सामुहिक रुपमा मनाउन थालिएको हो ।०७९ सालमा संस्था दर्ता गरी आश्विन अष्ठमी तिथिको कृष्ण पक्ष पक्षका दिन धरानमा रहेका तेली समुदायलाई जमघट गराई सामुहिक रुपमा जितिया पर्व मनाउने गरेका हुन् । यसै क्रममा तेली समाजले धरान १ मा रहेको धुलीखेल समाजमा सबै तेलीलाई भेला गराई जितिया पर्व मनाएको छ । उनीहरुको पर्वमा अन्य जातजातिका तथा धर्म संस्कृतिका सर्वसाधारणको समेत उपस्थिति रहेको थियो । सो अवसरमा तेली कल्याण समाज सुनसरीका अध्यक्ष अवध विहारी साहले जितिया पर्वको महत्वको विषयमा जानकारी गराउनु भएको थियो । सो अवसरमा धरानका अध्यक्ष डा. श्रीराम साहको समेत उपस्थिति रहेको थियो । कार्यक्रम तेली कल्याण समाज धरानले आयोजना गरेको हो ।

संस्कृतमा ’जिवित पुत्रिका’, हिन्दीमा जियतिया र नेपालमा तराइवासी मधेशी महिलाहरू ‘जितिया’लाई आफ्नो सन्तानको सुख, आनन्द र प्रगतिका निमित्त मनाइने एउटा उत्साहजनक चाडका रूपमा लिन्छन् र यसलाई जिवित पुत्र पर्वको रूपमा मनाइन्छ । यो पर्व अश्विनको अष्ठमी तिथीको कृष्ण पक्षको दिन मनाइन्छ । यो पर्व खासगरि आमाहरूले आफ्नो जिवित पुत्रहरूकालागि व्रत बस्ने गर्दछन् । महिलाहरु ‘निर्जला’ अर्थात पानी समेत सेवन नगरिकन २४ घण्टासम्म भगवान ‘जीतमहान गोँसाई’को पूजाआजा गरी कठोर व्रत बस्ने परम्परा रहिआएको छ । तराईबासीका विभिन्न जातजातिले मनाउने यो पर्व जहाँ बसे पनि साँस्कृतिक पर्वलाई जिवन्तता राख्न संस्था नै दर्ता गरेर बार्षिक रुपमा यो पर्व मनाउन थालेका हुन् । यसले सबै जातजातिको धर्म सँस्कृतिको विषयमा सबैलाई जानकारी हुने र साँस्कृतिक सम्बन्ध अझ बलियो भएर जाने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया