नेपालका २६ जना कुटनीतिज्ञ तथा अधिकारीकोे भारत भ्रमण

काठमाण्डौ । भारतको नयाँदिल्लीस्थित विदेश मन्त्रालयको सुष्मा स्वराज विदेश सेवा संस्थाको आयोजनामा पहिलो विशेष प्रशिक्षण कार्यक्रममा नेपालका २६ जना कुटनीतिज्ञ तथा अधिकारीहरुले भोलि बुधबारदेखि भारत भ्रमण गर्ने भएका छन् । विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेपाल सरकारका प्रमुख १० मन्त्रालय र विभागका गरी २६ जना कुटनीतिज्ञले बुधबारदेखि आगामी मंसिर १५ गतेसम्म भ्रमण गर्ने भएका हुन् । नेपाली कुटनीज्ञि तथा अधिकारीहरुको टोलीमा परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सँस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, सहरी विकास मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा रेल विभागका प्रतिनिधिहरु रहने भारतीय राजदुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।


दुतावासद्वारा जारी विज्ञप्तीमा भनिएको छ प्रशिक्षण कार्यक्रममा वैश्कि राजनीति तथा आर्थिक सान्दर्भिकता, व्यापार तथा कनेक्टीभिटी, जलवायु परिवर्तन तथा मानवीय सहायता, विकास साझेदारी, साझा सँस्कृति र सम्पदा विषयमा मोड्युलहरु राखिनुका साथै नयाँदिल्ली बाहिरका पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण सहर र ठाउँहरुको भ्रमण समावेश गरिएको छ । भारतीय राजदुतावास काठमाण्डौका नियोग उपप्रमुख प्रशन्न श्रीवास्तवले मंसिर ४ गते २६ जना नेपाली कुटनीतिज्ञ तथा अधिकारीहरुसँग उहाँहरु भारत जानु अगाडि अन्तरक्रिया समेत गर्नुभएको थियो । उहाँहरु सबैलाई भ्रमण उपयोगी, फलदायी र आनन्दमयी प्रशिक्षण अनुभवको कामना समेत नियोग उपप्रमुख श्रीवास्तवले गर्नुभएको थियो । नेपाली कुटनीतिज्ञ तथा अधिकारीहरुको भारत भ्रमणले हाम्रो संस्थागत आदानप्रदानलाई निरन्तरता दिनुका साथै यसले नेपाल र भारतबीचको घनिष्ठ र विशिष्ठ द्विपक्षीय सम्बन्धलाई झल्काउने दुतावासद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

तपाईको प्रतिक्रिया