धरान । बाल्यकालमा मनोरञ्जनको रुपमा खेलिदै आएको स्टोन स्किपिङ (पानी शुल्के) खेल नेपालीहरुको मौलिक खेल भएकोले यो खेलको प्रवद्र्धनका लागि यस बर्ष पनि चतरा हाइकिङ समूहले निरन्तता दिने भएको छ । आयोजक चतरा हाइकिङ समूहले सोमबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी सो प्रतियोगिताको बारेमा जानकारी गराएको छ । प्रतियोगिता यही कार्तिक १६ गते शुक्रबार हुने भएको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई क्रमश २५, १५ र १० हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका सयोजक नवराज विष्टले जानकारी दिनुभयो । गत बर्ष प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश ः५, ३ र २ हजार प्रदान गरिएकोमा यो बर्ष भने पुरस्कार राशी बढाइएको सयोजक विष्टले जानकारी दिनुभयो । गत बर्ष ७२ जनाले प्रतियोगितामा भाग लिए पनि यो बर्ष अझै बढ्ने आयोजक चतरा हाइकिङ समूहका अध्यक्ष भिषण राईले जानकारी दिनुभयो । उहाँका अनुसार सामान्यतया नदी, तलाउ, पोखरी र नहरमा ढुङ्गा फालेर खेलिने यो खेल अमेरिका, आयरल्यान्ड, स्कटल्याण्डलगायत देशमा प्रतियोगिताको रूपमा खेलिने गरे पनि नेपालमा भने यो खेल पहिलो गत बर्ष पटक चतराबाट आयोजना भएको दाबी गर्नुभयो ।
नदी, तलास र पोखरीमा चेप्टो र गोलाकार ढुङ्गालाई पानीको सतहमा हुइँक्याएर यो खेल खेलिन्छ । बाल्यकालमा पौडी खेल्न जाँदा, गाइवस्तु चराउन जाँदा मनोरञ्जनको रुपमा खेल्ने गरे पनि नेपालमा भने प्रतियोगात्मक रुपमा खेल खेलाइएको थिएन । नेपालको ऐहासिक तथा मौलिक खेल भएपनि यसको प्रवद्र्धन हुन नसेको बेला चतरा हाइकिङ समूहले गत बर्षदेखि नि प्रतियोगिताको रुपमा खेलाउन थालिएको उहाँले जानकारी दिनुभयो । क्यामेरा प्रविधिबाट प्रतियोगिताको निर्णय गर्ने आयोजकको भनाइ छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार ८८ पटक ढुङ्गा उफारेर अमेरिकी नागरिक कर्ट स्टेइनरले सन २०१३ मा यो खेलमा रेकर्ड राखेका छन् । गत बर्षको प्रतियोगितामा चतराका स्थानीय राहुल लिम्बु, राजेन्द्र कार्की र सञ्चारकर्मी लक्ष्मण कटुवाल क्रमश पहिलो, दोस्रो र तेस्रो भएका थिए ।