काठमाण्डौ । नेपाल–भारत संयुक्त सुरक्षा बैठक काठमाण्डौमा मंसिर १ गते सम्पन्न भएको छ । संयुक्त सीमा सुरक्षा समन्वय बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल एसएसवीका उच्च पदस्थ अधिकारीको समुपस्थतिमा सम्पन्न भएको हो । हाल सम्पन्न बैठक आठौ श्रृखलाको हो । सशस्त्र प्रहरी बलको मुख्यालय हल चोकमा शनिवार र आइतबार चलेको बैठकमा सशस्त्र प्रहरीका महानिर्देशक राजु अर्याल र भारतको सीमा सुरक्षा बल एसएसवीका महानिर्देशक अमृत मोहन प्रसादले आ–आफ्ना तर्फबाट सहभागी प्रतिनिधि मण्डलको नेतृत्व गर्नुभएको थियो ।
नेपाल–भारत संयुक्त सुरक्षा समन्यवात्मक बैठक सातौ श्रृंखला भारतमा भएको थियो । बैठक दुवै देशमा आलोपालो ढंगले हुने गरेको छ । सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलैन्द्र थापाले दिनुभएको जानकारी अनुसार प्रत्येक बर्ष दुवै देशमा हालोपालो बैठक हुँदै आएको छ । उहाँका अनुसार समन्वयात्मक बैठकको मुख्य उद्देश्य सीमा स्तम्भको संयुक्त निगरानी, सीमा अपराध न्यूनिकरण, आतंकवाद क्रियाकलाप नियन्त्रण र निगरानी, अवैध तस्करी नियन्त्रण, दुवै बीचमा सूचना आदानप्रदान लगायतका विषयमा छलफल भएको थियो । बैठकको दोस्रो दिन नेपालका गृहमन्त्री रमेश लेखकको समेत उपस्थिति
रहेको थियो ।
सहायक प्रवक्ता थापाका अनुसार बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने विषयमा दुवै पक्षबीचमा घनिभूत छलफल भएको थियो । यसैगरि अपराध कर्म गरी एक अर्का देशमा लुकिछिपी बस्ने प्रवृत्ति बढेकोप्रति दुवै पक्षबाट चिन्ता व्यक्त गर्दै सीमा सुरक्षलाई थप बलियो र प्रभावकारी बनाउने, भारतीय सीमा सुरक्षा बल एसएसबी र सशस्त्र प्रहरी बलले सीमा सुरक्षालाई बलियो बनाउन दुई निकाय बीचमा निरन्तर समन्वय, सहकार्य र संवादसँगै सूचना दानप्रदानलाई प्राथकिकता दिने समेत सहमति भएको छ । आठौ समन्वयात्मक बैठकमा सहभागी हुन भारतीय सशस्त्र सीमा सुरक्षा बलका महानिर्देशक अमृत मोहन प्रसादको नेतृत्वमा प्रतिनिधि मण्डल शुक्रबारै काठमाण्डौ आएको थियो । वैठकमा नेपालका तर्फबाट महानिरिक्षक राजु अर्यालसँगै बाहिनीपति, गणपति, बार्डर आउट पोष्ट विओपीको नेतृत्वमा रहनु भएका सशस्त्र प्रहरीका अधिकारीहरुको समे्त उपस्थिति रहेको थियो । विगत केही बर्ष यता सशस्त्र प्रहरी बल नेपाल
(एपिएफ) ले पूर्वको ताप्लेजुङ्गदेखि पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा लगायतका सीमावर्ती जिल्लाहरुमा सीमा सुरक्षालाई प्राथमिकतामा राखी विओपीहरुको स्थापनालाई तिब्रता दिएको छ । सीमित स्रोत साधनको समुचित परिचालन गरी सशस्त्र प्रहरीले भारतीय सीमा सुरक्षा बलसँगको समन्वयमा सीमा स्तम्भको रेखदेख, जीर्ण भएका सीमा स्तम्भको उचित संहार, हराइएका सीमा स्तम्भहरुको खोजी लगायतका कार्यहरुसँगै दशगजा क्षेत्रमा बनाइएका अवैध घर टहरा हटाउने लगायतका कार्यहरु समेत गर्दै आएको सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।