धरान । गौतम बुद्धको उपदेशहरू समेटिएको ‘अनुत्तर उपदेश ज्ञानमाला’ भजन संग्रह पुस्तक धरानमा विमोचन गरिएको छ । भजनको माध्यमबाट बुद्धका उपदेशहरुलाई जनमानससम्म पु¥याउने उद्देश्यले भन्ते राहुल महास्थावीरबाट विमोचन गरिएको हो । पुस्तक ज्ञानमाला संघ सुनसरीले प्रकाशित गरेको हो । गौतम बुद्धको उपदेशहरू सगीतबद्ध गरी प्रचारप्रसार गर्ने उद्देश्यले स्थापना भएको ज्ञानमाला संघले विगतदेखि नै बुद्धसम्बन्धी भजन तयार पारी प्रचारप्रसारमा जुट्दै आएको छ । धरान–८ बुद्ध बिहारमा आयोजित विमोचन समारोहमा पुस्तकमा भगवान् बुद्धको उपदेश सबैले अनुशरण गर्न, चित्तलाई परिशुद्ध गर्न बुद्ध उपयोगी भजनहरू समावेश गरिएको जनाइएको छ । बुद्धले आफ्नो जीवनकालमा दिएका शिक्षा तथा सन्देशलाई संग्रह गरी तीन भागमा विभाजन गरी त्रिपिटकको विकास गरिएको र त्यसैलाई यिनै ज्ञानलाई गीतका माध्यमबाट भजन बनाएर स्रोतालाई सुनाउन विकास गरिएको ज्ञानमाला संघ सुनसरीकी अध्यक्ष रमला श्रेष्ठले जानकारी दिनुभयो । ज्ञानमाला भजनको माध्यमबाट बुद्ध शिक्षा सिकाउने, बुद्ध शिक्षा सिकेर जीवनमा अनुशरण गर्दै सुख शान्तिसँग जीवनयापन गर्न ज्ञानमाला संघको गठन भएको उहाँको भनाई छ ।
बुद्धले आफ्ना जीवनका विभिन्न चरणमा अनुभव गरेका विषयवस्तु तथा ज्ञानका आधारमा विकास भएका, त्रिरत्न, चार आर्य सत्य, पञ्चशील, आठ मार्गलगायत अधिकांश विषय उक्त भजनमा समावेश गरिएको उहाँको भनाई छ । विगतमा नेवारी भाषामा समेत ज्ञानमाला भजन प्रकाशित गरे पनि सबैले बुझ्न सकून भन्ने उद्देश्यले यसमा भने नेपाली भाषामा लेखिएका जानकारी दिनुभयो । विसं २०५९ मा नेपाल राष्ट्रिय ज्ञानमाला समितिलाई विधिवत् रुपमा स्थापना गरिएपछि सोही वर्ष सुनसरीको धरानमा चौथो सम्मेलन गरिएको थियो । त्यसपछिका सबै सम्मेलन सोही संस्थाले गर्दै आएको छ । बौद्ध साहित्यमा ज्ञानमाला भजनको ठूलो महत्व रहेको भएपनि यो व्यापक रुपमा फैलाउन नसकिएको अवस्थामा नयाँ ढंगबाट यसलाई सर्वसाधारणमा बुझाउन आवश्यक देखिएकोले अनुत्तर ज्ञामाला उपदेश ज्ञानमाला प्रकाशित गरिएकौ ज्ञानमाला संघ सुनसरीले जनाएको छ ।