कागुनेमा चासोक तङनाम मनाइयो

धरान । लिम्बु जातिको चासोक तङ्नाम शुरु भइसकेको छ । यसैबीच लिम्बु जातिको जातीय संगठन युमा साम्यो महासभा नेपालले धरान ५ कागुनेमा चासोक तङनाम भव्यताका साथ मनाएको छ । आफ्नो जातिको पहिचानलाई स्थापित र संरक्षण गर्ने उद्देश्यले प्रत्येक बर्ष आयोजना गर्दै आएको चासोक तङनाम युमा साम्यो महासभाले यस बर्ष पनि आयोजना गरेको हो । धरान आदिवासी जनजातिको सहर हो । यहाँ अन्य जाति बसोबास गरे पनि दिवासीको वाहुल्यता रहेको छ । आदिवासी जनजातिभित्र लिम्बु जाति पनि पर्दछन् । लिम्बुहरुले मंसिरमा उद्यौली पर्वको रुपमा चासोक तङनाम मनाउने गर्छन् । प्रकृति पुजकको रुपमा मनाइने चासोक तङनाम अन्नबाली पाकेर थन्काउने समयमा र अन्नबाली रोप्नेबेलामा उभौली चासोक तङनाम मनाउने गर्छन । उद्यौली पर्वको रुपमा धरान ५ कागुनेमा लिम्बुहरुले पूजाआजासँगै बजाउने बाजा च्याब्रुङ झ्म्टा बजाएर आफ्नो पर्व मनाएका छन् । सबै जातजातिको चाडपर्वमा पछिल्लो समय स्थानीय सरकारको सहभागिता रहने गरेको छ । यस पर्वमामा पनि धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको उपस्थिति रहेको थियो । सो अवसरमा उहाँले लिम्बु जातिको संस्कार सँस्कृतिलाई सबैले नजिकबाट नियाल्ने मौका पाएको बताउदै यस्ता चाडपर्वलाई उपमहानगरपालिकाले अपनत्व गरेर अगाडि बढ्ने बताउनुभयो ।

उब्जिएको नयाँ अन्न चढाएर मात्र खानुपर्छ भन्ने मान्यता यो पर्वले राख्ने भएकोले यसको विधि र प्रक्रिया अनुसार पर्व मनाइएको युमा साम्यो महासभा नेपालका प्रतिनिधि नविन मेन्याङ्बोले बताउनुभयो । उहाँले परम्परागत रुपमा मनाउदै आएको यो पर्वको संरक्षण र संस्थागत रुपमा लाने अभिप्रायले यसलाई निरन्तता दिएको उहाँले बताउनुभयो । पछिल्लो समय सबै जातजातिले आफ्नो परम्परा तथा साँस्कृतिक पर्वलाई संस्थागत गर्न सबै जातजातिको सहभागितामा सामुहिक रुपमा मनाउने प्रचलन बढ्दै गएको छ । यसले नेपालका सबै जातजातिका भाषा, धर्म, सँस्कृति संरक्षणमा ठूलो टेवा पुग्ने अपेक्षा समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया