धरान । अत्यन्तै शालीन व्यक्तित्व, पूर्व सभामुख, बरिष्ठ अधिवक्ता एवम् नेपाली काँग्रेसका योद्धा दमननाथ ढुंगनाको आइतबार विहान निधन भएको छ ।
कलेजी रोगबाट पीडित ८३ बर्षीय ढुंगनाको काठमाण्डौ बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । वि.सं. २०४८ सालको प्रजातन्त्र प्राप्तिपछिको पहिलो आम निर्वाचनमा काठमाण्डौ क्षेत्र नं. २ बाट प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित हुनु भएका ढुंगाना २०४८ देखि २०५१ सालसम्म सभामुख हुनु भएको थियो ।
नेपाली काँग्रेसको स्पष्ट बहुमत छँदाछँदै तन्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले संसद विघटन गरी मध्यावधि निर्वाचन गराएपछि ढुंगाना सभामुखबाट हट्नु भएको थियो । ससद सत्तापक्षको नभएर प्रतिपक्षको हो भन्ने मान्यता स्थापित गर्नु भएका ढुंगानाको अन्तिम संस्कार राजकीय सम्मानका साथ सोमबार पशुपति आर्यघाटमा गरिएको थियो । वि.सं. २००३ साल जेष्ठ ३ गते जन्मनु भएका ढुंगानाले सशस्त्र माओवादी द्वन्द्वका समयमा २०५८ सालदेखि २०६४ सम्म शान्ति प्रक्रियाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । स्वर्गीय ढुंगानाको श्रीमति, दुई छोरा र एक छोरी रहनु भएको छ ।