धरान । पाँच बर्ष अगाडिसम्म सु्नसरी जिल्लामा तीन दर्जन भन्दा बढी धान चामलका उद्योगहरु थिए । जसमा सैयौ सर्वसाधारणले रोजगारी पाएका थिए, दैनिक उपभोग्य वस्तु खाद्यान्नमा आजको जस्तो चरम महँगी थिएन । आज अधिकांश त्यस्ता उद्योगहरु एकपछि अर्को गर्दै बन्द भएका छन्, औँलामा गन्न सकिने दुईचारवटा उद्योगहरु सञ्चालनमा देखिए पनि चाँडै नै ती बन्द हुने अवस्थामा पुगेका छन् । धान–चामलका उद्योगहरु क्रमश ः बन्द हुँदै जानुको प्रमुख कारण सरकारको गलत नीति, उद्योगहरुप्रतिको दृष्टिकोण, खाद्यान्नमा समेत भ्याट लगाउनु, भारतबाट आयात हुने धानमा भारत सरकारले १० प्रतिशत शुल्क लिनु, चामल शून्य प्रतिशतमा आयात गर्न दिनु नै भएको उद्योगीहरु बताउँछन् । गोयल एग्रो प्रा.लि. इटहरीका सञ्चालक राजेश गोयल भन्नुहुन्छ, उद्योगी व्यवसायीहरुप्रति सरकारको दृष्टिकोण नै राम्रो छैन । पाँच बर्ष अगाडिसम्म अत्यावश्यक खाद्यान्नमा १३ प्रतिशत भ्याट लाग्दैन थियो । केपी ओली प्रधानमन्त्री भएको समयमा उनका अर्थमन्त्री युवराज खतिवडाले खाद्यान्नमा १३ प्रतिशत भ्याट लगाइदिए । एकातिर यहाँका उद्योगहरुबाट उत्पादन भएको चामलमा १३ प्रतिशत भ्याट लगाइदिएको छ भने अर्कोतर्फ भारतबाट आयात हुने धानमा भारत सरकारले १० प्रतिशत कर असुल्छ भने तयारी चामल नेपालमा शून्य प्रतिशत शुल्कमा निर्यात गरिदिन्छ । यस्तो अवस्थामा यहाँका उद्योगहरुले प्रतिष्पर्धा गरेर उद्योग चलाउन सक्ने अवस्था नै छैन । सञ्चालक गोयल भन्नुहुन्छ धानमा मात्र आयातमा शुल्क नलाग्दा यहाँका खाद्य उद्योगहरुले केही राहत पाउने थिए । भारतले अल ओभरलका लागि त्यस्तो नीति बनाए पनि नेपाल सरकारले भातरबाट आयात हुने धानमा त्यस्तो शुल्क हँटाउन पहल गरिदिनुपर्ने थियो । यसका लागि तपाईहरुले सम्बन्धित ठाउँमा पहल गर्नुभएको छैन त भन्ने सवालमा उहाँले भन्नुभयो धेरै पटक गरेका छौ । नेपाल चामल एसोसिएसनमार्फत भारतीय राजदुतावासमा पहल गरेका छौं, उद्योग मन्त्रालयमा, अर्थ मन्त्रालयमा, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा लिखित रुपमै आफ्ना कुराहरु राखेका छौ तर यसको दिगो समाधान कहीँबाट भएको छैन ।
खाद्य उद्योगहरुको अवस्था सुनसरीमा मात्र नभएर झापा, मोरङ, सप्तरी लगायतका सबै जिल्लामा यस्तै रहेको समेत गोयलले बताउनुभयो । सरकारले संवेदनशील भएर यस सम्बन्धमा भारत सरकारसँग वार्ता गरी खाद्य उद्योगीहरुको समस्या समाधानमा पहल नगर्ने हो भने एकातिर हजारौले रो्जगारी गमुाउँछन् भने अर्कोतर्फ करोडौको लगानी डुब्छ । नेपालमा रहेका खाद्य उद्योगहरु यहाँका उत्पादनले दुई महिना पनि चल्न सक्दैनन् । जसका कारण भारतबाट धान आयात गर्नैपर्छ । भारतबाट धान आयात गर्ने मुलुक पनि नेपालमात्र हो । अन्य कुनै पनि देशमा भारतबाट धान निर्यात हुँदैन । चामलमात्र निर्यात हुन्छ । भारत जस्तो ठूलो देश बर्षमा ५,१० लाख टन धान नेपाल आउँदा १० प्रतिशत शुल्क नलगाउँदा पनि केही फरक पर्दैन । यसमा नेपाल सरकारले पहल गर्नुपर्छ, सञ्चालक गोयल भन्नुहुन्छ । पाँच बर्ष अघिसम्म सञ्चालनमा रहेका इटहरी ५ का दुई ठूलो सेलर मिल कृष्ण लघु उद्योग, बजरंग लघु उद्योग यतिबेला पूर्ण रुपमा बन्द भएका छन् । करोडौ लगानीका ती उद्योगले ५० औं मानिसलाई प्रत्यक्ष रोजगारी दिएका थिए । उद्योग परिसरको अगाडि सानो छाप्रो बनाएर भारतबाट आयात भएको, स्वदेशमै केही सेलर मिलका उत्पादित चामल विक्री गर्दै आउनु भएका किशन अग्रवाल भन्नुहुन्छ भारतीय चामलसँग प्रतिष्पर्धा गर्न नसकेपछि उद्योग बन्द गर्नुको विकल्पै रहेन । एकताका चौवीसै घण्टा सञ्चालन हुने ती दुवै उद्योग परिषरमा यतिबेला उम्रिएका घाँस पातले ढाकेको छ । तयारी चामल नै जिरो प्रशितशत शुल्कमा भारतबाट आयात भएपछि बजारमा प्रतिष्पर्धा गर्न सम्भवै भएन उहाँले भन्नुभयो । यसैगरी इटहरी १ का थप तीन सेलर मिल समेत तीन बर्ष अगाडि नै बन्द भएका छन् । धरानमा समेत श्रेष्ठ राइस मिल,सानु लघु उद्योग, विष्णु राइस मिल लगायतका मिलहरु बन्द भइसकेका छन् ।