धरानमा बादरको उप्रदो : मान्छेलाई नै हमला गर्न थाल्यो

धरान । धरानमा बादर आतंंक चरम उत्कर्षमा पुगेको छ । बादरले सर्वसाधारणलाई दुःख दिने मात्र हैन आक्रमण समेत गरेर घाइते बनाएपछि धरानबासी अहिले बादरबाट त्रसित छन् । बाँदरको समस्याको धरानका केही वडाका स्थानीयहरु बसाइसर्ने मनसायमा समेत पुगिसकेका छन् । धरान १ की गंगा राईलाई केही समय अगाडि बाँदरले आक्रमण गरेर घाइते बनायो । भान्सामा खाना पकाउदै गरेको अवस्थामा घरको झ्यालबाट छिरेर उहाँमाथि आक्रमणसँगै ढाडमा टोक्यो । विगतमा भान्सामा आउने, पकाएको भात खाइदिने, सुकाएको लुगा फालिदिने समस्या त धेरै थियो तर आक्रमण नै चाहिँ गरेको थिएन । तर भान्सामा भात पकाउदै गरेको अवस्थामा आक्रमण गरेपछि अहिले पनि उहाँलाई भान्सामा पस्नै डराउनुहुन्छ । बाँदरले टोकेकै कारण उहाँले उपचार त गराउनु प¥यो नै अहिले पनि त्रासमै बस्नु पर्ने अवस्था छ ।


उहाँलाई मात्र हैन त्यसको दुई दिन पछि छिमेकी महिलालाई समेत बादरले आक्रमण गरेको राई बताउनुहुन्छ । घरमा आएर आक्रमण गर्ने मात्र हैन बाँदरले विहान मर्निङवाक गर्नैहरुलाई समेत आक्रमण गर्ने गर्छ । धरान १ का श्याम पोखे्रलले बाँदरले विहान मर्निङवाक हिड्ने धेरैलाई आक्रमण गरेको बताउनुभयो । उहाँले हुलका हुल बाँदर आएर बाटोमा हिड्ने सर्वसाधारणलाई झम्टिने र घाइते बनाउने भएकोले अहिले विहान मर्निङ वाक हिड्नेहरु त्रासमा हिड्नुपर्ने अवस्था आएको बताउनुभयो । हुन त बाँदरको समस्या समाधानका निम्ति ०७२ सालमै बादर पीडित संघर्ष समिति समेत गठन भएको थियो । बाँदर व्यवस्थापनका लागि सो संघर्ष समितिले स्थानीय तह, कोशी प्रदेश सरकार तथा सघीय सरकारलाई पटक पटक ज्ञापनपत्र समेत बुझाइसकेको छ । त्यस्तै वन विभागलाई समेत ध्यानाकर्षण गराइसकेको छ तर ध्यानाकर्षण बुझाउन जाँदा एकले अर्कालाई देखाएर पन्छिने गरे कारण समस्या झन विकराल बन्दै गएकौ बाँदर पीडित संघर्ष समितिका संयोजक सकुल श्रेष्ठ बताउनुहुन्छ । संघर्ष समितिले ध्यानकर्षण गराएकै कारण कोशी प्रदेशको संसद भवनमा तत्कालीन सांसद सावित्री श्रेष्ठले कुरा उठाउनुभयो । समस्याको विषयमा कुरा राख्दा त्यसबेला अन्य सांसदले मजाकको रुपमा लिए तर गम्भीरतापूर्वक नलिएका कारण धरानमा अहिले बाँदर आक्रमणको समस्या विकराल बन्दै गएको छ । केही समय अगाडि बाँदर आतंकको गुनासो आएपनि धरान उपमहानगरपालिकाले बादर विज्ञलाई बोलाएर कोशी टप्पुमा स्थानान्तरण गरे पनि केही समय बाँदरको आक्रमण कम भएपनि अहिले झन विकराल बन्दै गएको हो । मुख्य गरी धरानको वडा नं. १, २, ३, १४ वडाका सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । यसतर्फ सम्बन्धित पक्षले समाधान गर्नुको सट्टा सम्बन्धित पक्षसँग समस्याका विषयमा कुरा राख्दा मजाकको रुपमा लिने गरेको पाइएको छ । अहिले धरानमा करिब २ देखि ३ सय बादर हुलका हुल बजार पस्ने र सर्वसाधारणलाई दुःख दिने गरेका छन् । बाँदरको समस्यालाई समाधान गर्ने कुरामा सम्बन्धित पक्ष गम्भीर नभए भविष्यमा बादर धरानको टाउको दुखाइको विषय बन्ने पक्कै छ ।

तपाईको प्रतिक्रिया