काठमाण्डौ । नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त हुनु भएको छ । साउन २५ गतेदेखि कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्दै आउनु भएका सिग्देललाई नेपाली सेनाको परमाधिपति समेत रहनु भएका राष्ट्रपति रामचन्द्र पौड्यालले भाद्र २४ गते सोमबार दज्र्यानी चिन्ह प्रदान गर्नुभएको थियो । राष्ट्रपति भवन शितल निवासमा आयोजित एक विशेष कार्यक्रमका बीच राष्ट्रपति पौड्यालले दज्र्यानी चिन्ह प्रदान गरेसँगै प्रधानसेनापतिले सैनिक मुख्यालय जंगीअड्डा पुगेर औपचारिक रुपमा कमाण्ड सम्हाल्नु भएको थियो ।
नेपाली सेनाका निवर्तमान प्रधानसेनापति प्रभुराम शर्मा आफ्नो तीनबर्षे कार्यकाल पूरा गर्नुभन्दा एक महिना अगाडि विदामा बस्नु भएको थियो ।उहाँले भाद्र २५ गतेदेखि नियमित अवकाश पाउनु भएको थियो । सिग्देललाई शर्माले प्रधानसेनापतिको रुपमा अगाडि सार्दै सिफारिस गर्नुभएको थियो । जस अन्तर्गत मन्त्रीपरिषद्को भदौ १२ गते बसेको बैठकले सिग्देललाई प्रधानसेनापतिमा नियुक्ति गर्ने निर्णय गरेको थियो । नेपाली सेनामा यतिबेला ९६ हजार फौज रहेका छन् । यिनीहरुको नेतृत्व प्रधानसेनापति सिग्देलले आगामी २०८४ साल भाद्र २४ गतेसम्म गर्नुहुने भएको छ । रुपन्देही जिल्लाको भैरहवा स्थायी घर भएका सिग्देल २०२३ माघ १९ गते जन्मनु भएको हो । उहाँले नेपाली सेनाको सैनिक अधिकत्तममा भर्ना भई ३८ बर्ष देखि सेवारत हुनुहुन्छ । उहाँले स्वदेश तथा विदेशबाट उच्च शिक्षा, तालिम प्राप्त गर्नुभएको छ । उहाँले चीनबाट नेशनल डिफेन्स कोर्ष, आर्मी कमाण्ड स्टाफ कलेज शिवपुरी, आर्मीबाट कलेजबाट हायर कमाण्ड एण्ड म्यानेजमेन्ट कोर्ष र भारतबाट डिफेन्स म्यानेजमेन्ट कोर्ष पूरा गर्नुभएको छ ।