बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३ औं दिक्षान्त समारोहमा ६५७ विद्यार्थी दीक्षित दीक्षित विद्यार्थीलाई प्रतिज्ञासहित उपाधिको चिन्ह र पोसाक लगाउने अधिकार प्रदान

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ९ बर्ष पछि सोमबार सम्पन्न १३ औं दीक्षान्त समारोहमा प्रधानमन्त्री एवम् प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले दिक्षित भएका ६५७ जना विद्यार्थीहरुलाई प्रतिज्ञासहित उपाधिको चिन्ह स्वरुप प्रदान गरिएको पोसाक लगाउने अधिकार प्रदान गर्नुभएको छ ।
चिकित्साशास्त्रका विभिन्न फ्याकल्टीका विद्यार्थीहरुलाई कुलपति ओलीले सिफारिस गरिए बमोजिम तपाईहरुलाई आज उपाधि प्रदान गरिएकोमा के तपाईहरु प्राथमिकदेखि उच्च स्तरसम्म गुणात्मक स्वास्थ्य सेवा उपलब्ध गराउँदै समाजमा सद्भाव फैल्याउन तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने व्यक्ति र समुदायको आवश्यकतालाई पूर्ति गर्न धान्न सकिने एकीकृत स्वास्थ्य सेवा प्रणालीको नमूना जनशक्तिको रुपमा स्थापित हुने प्रतिज्ञा गर्नुहुन्छ भन्ने सवालमा दीक्षित विद्यार्थीहरुले प्रतिज्ञा गरेका थिए । कुलपति ओलीले तपाईहरुलाई प्रदान गरिने उपाधिको नाताले के तपाईहरु आफूले पूरा गर्नुपर्ने आफ्ना पेशासँग सम्बन्धित कर्तव्यहरु इमान्दारी र होसियारीका साथ पालना गर्दै आफ्नो दैनिक जीवन र प्रतिष्ठानको गरिमालाई सुहाउने गरी व्यवहार गर्ने र सदैव स्वच्छता र प्रतिष्ठा कायम गरी आफ्नो ज्ञानलाई उचित दिशातिर लगाएर त्यसको उच्च प्रयोगको बाटोतर्फ निरन्तर लागि स्वास्थ्य विज्ञानको परिवर्तनको वाहकको रुपमा कार्य गर्ने प्रतिज्ञा गनुहन्छ भन्ने सवालमा दिक्षित विद्यार्थीहरुले प्रतिज्ञा गरेका थिए ।प्रधानमन्त्री एवम् कुलपति ओलीले दीक्षित विद्यार्थीहरुलाई आफ्नो सच्चरित्रता र कर्तव्य परायणताले सुयोग्य नागरिक बन्नुहुनेछ भन्ने विश्वास गदैै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन २०४९ र नियमाली २०५५ बाट प्राप्त अधिकारहरु प्रयो्ग गरी सम्बन्धित योग्यताको उपाधिपत्र समेत प्रदान गर्नुभएको थियो । दीक्षान्त समारोहमा उपकुलपति स्वर्ण पदक एमविसविएसतर्फ ८ जना, विडिएसतर्फ ८ जना, विएस्सी नर्सिङ्गतर्फ ७ जनालाई प्रदान गरिएको थियो । यसैगरि नारायण गोविन्द स्वर्ण पदक एमविविएसबाट ८ जना, डा. अवध नारायण स्मृति पुरस्कारबाट एमविविएसका ८ जना, हरिमान–उमादेवी स्वर्ण पदक विडिएसतर्फका ८ जनालाई उक्त अवसरमा प्रदान गरिएको थियो ।


सो अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले दीक्षान्त समारोहमा सरकारको नेतृत्व सम्हाल्ने प्रधानमन्त्रीको रुपमा सहभागी हुँदा आफूलाई बेग्लै आनन्दको महसुस भएको बताउनु भएको थियो । उहाँले चिकित्सा शिक्षामा विविध विद्याहरुमा मध्यम स्तरीय चिकित्सकदेखि विद्यावारिधी सम्मका डिग्री प्रदान गर्ने विशिष्ट प्रकृतिको स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोहमा सहभागी हुन पाउँदा गर्भ लागेको बताउनु भएको थियो । उहाँले एकै थलोमा अण्डरग्य्राजुएटदेख स्नातक, स्नाकोत्तर र विद्यावारिधी सम्मको चिकित्सा शिक्षा प्रदान गर्ने नेपालमा यो मात्र स्वास्थ्य प्रतिष्ठान भएको समेत बताउनुभयो । मेडिकल, डेण्टल, नर्सिङ्ग र सामुदायिक स्वास्थ्यका चार कलेजहरु सहित केन्द्रीय शिक्षण अस्पताल तथा जिल्ला शिक्षण अस्पतालहरुमार्फत समुदायसँगै प्रयोग गरेर सिक्ने विधिमा प्रतिष्ठानलाई आफूले विशिष्ट अनुभव रहेको सार्वजनिक संस्थाको रुपमा बुझेको छु । गुणस्तरीय चिकित्सा शिक्षा प्रदान गर्ने प्रतिष्ठानले देशको पूर्वीक्षेत्र केन्द्रित स्वास्थ्य सेवा सञ्चालन गरी देश र विदेशका विद्यार्थी र विरामी दुवैलाई आकर्षण गर्न सक्नु प्रतिष्ठानले झण्डै तीन दशकको अथक मेहनतबाट आर्जन गरेको आकर्षक पूँजी हो । विद्यार्थी र चिकित्सकलाई छोटो अविधिको एकेडेमिक तथा पुनर्ताजगी कोर्ष आयोजना गर्ने हो कि चिकित्सा शिक्षाका विभिन्न पक्षका अध्ययन, अनुसन्धान र अध्यापन गर्ने कामलाई सँस्कृतिको रुपमा हुर्काउने प्रतिष्ठानको सोचलाई प्रवद्र्धन गर्नुपर्ने एक महत्वपूर्ण कामका रुपमा आफूले लिएको समेत बताउनुभयो । उहाँले भन्नुभयो, अभिभावकको आम्दानी न्यून भएकै कारण सम्भावना बोकेको एउटा प्रतिभावान विद्यार्थी डाक्टर बन्नबाट बञ्चित हुने स्थित ठिक हो ? शिक्षाको गुणस्तरमा कुनै सम्झौता हुनुहुन्न । आम्दानी र ओहदाको हिसाबले ठूलाका सन्तान मात्र डाक्टर, इन्जिनियर, प्राध्यापक बन्ने परिपार्टी होइन न्यून आय भएका परिवारका जोकोहीले प्रतिभावान सक्षम व्यक्ति दक्ष चिकित्सक बन्न पाउने सहज वातावरण हुनुपर्ने र आफ्नो आगामी प्रयत्न यसैतर्फ लक्षित हुने समेत प्रधानमन्त्री एवम् कुलपति ओलीले प्रष्ट पार्नुभयो । अध्यक्ष एसोसिएस अफ फिजिसियन अफ इन्डिया र प्रख्यात शिक्षाविद् प्रा.डा. ज्योतिर्मोय पंलको प्रमुख आतिथ्यमा सम्पन्न १३ औं दिक्षान्त समारोहमा सह–कुलपति एवम स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौड्याल, प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्रा.डा. सञ्जिव शर्मा, अस्पताल निर्देशक डा. जगतनारायण प्रसाद, कुलसचिव प्रा.डा. सूर्यप्रसाद संग्रौला, राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. आर.पी विच्छा, काठमाण्डौ विश्व विद्यालयका उपकुलपति प्रा.डा भोला थापा, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा.दिलिप सुब्बा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोख्रेल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दिपक काÏले, अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे, चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्रा.डा. दिब्यासिंह साह, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष प्रा.डा. गेहनाथ बराल, नेपाल मेडकल काउन्सिलका अध्यक्ष प्रा.डा. चोवलाल भुषाल, स्वास्थ्य वैज्ञानिक डा. ज्ञानेन्द्रमान सिंह कार्की, स्वास्थ्य वैज्ञानिक प्रा.डा. शिवलाल शर्मा, प्रतिष्ठानका शिक्षा प्रा.डा निलाम्बर झा, प्रा.डा. नारायणराज भट्टराई, प्रतिष्ठित उद्योगपति पर्शुराम बस्नेत दिक्षान्त मण्डपमा रहनु भएको थियो ।

तपाईको प्रतिक्रिया