कुल ९७.७६० किलोमिटर सडक खण्डमा ३ सय मिटर भन्दा लामा ६ पुल का“कडभिट्टा–लौकही एसियाली मापदण्डको चार लेन सडक र पुल निर्माणमा चिनियाँ कम्पनी

धरान । एशियाली विकास बंैक (एडिवी) र एसियाली इफ्रास्टक्चर इन्भेष्ट बैंक (एआइइवी) को कुल ४६ अर्ब ऋण सहयोगमा भारत सरकारद्वारा निर्माण गरेको महेन्द्र राजमार्गको काँकडभिट्टा लौकही सडक खण्डको ९७.७६० किमी सडक र पुल स्तरोन्नति यतिबेला तिब्र गतिमा अगाडि बढेको छ ।
महेन्द्र राजमार्गको काँकडभिट्टा–ढल्केबर सडक खण्ड भारत सरकार, ढल्केबर पथलैया सडक खण्ड रुस, हेटौडा नारायण गढ सडक खण्ड एसियाली विकास बैंक, नारायण गढ–बुटबल सडक बेलायत र बुटवल–कोहलपुर–वनवासा सडक खण्ड भारत सरकारले निर्माण गरिदिएका हुन् । काँकडभिट्टादेखि कोहलपुर वनवाससम्मको लम्बाई १०२७.६७ किमीमध्ये काँकडभिट्टा लौकही सडक खण्डको ९७.७६० किमी सडक एसियाली सडकको मापदण्ड अनुसार चार लेनको लागि स्तरोन्नति भइरहेको हो ।


सडक निर्माणमा चिनिँया कम्पनीको वर्चस्व
काँकडभिट्टादेखि लौकही सम्मको सडक खण्ड निर्माणमा चिनियाँ कम्पनीको वर्चस्व रहेको छ । चिनियाँ कम्पनीसँग अजर वैजानको निर्माण कम्पनी युरो एसियन कस्ट्रक्सन कर्पोरेशन, नेपालको कालिका कस्ट्रक्सन र तुङदी कस्ट्रक्सनहरु ज्वाइन भेन्जरमा सहभागी भएका छन् । स्थल मार्गबाट एसियाका देशहरुलाई जोडेर व्यापार र पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्य यो राजमार्गको रहेको छ । थाइल्याण्डको बैंककबाट शुरु हुने रुट नं. २ अन्तर्गत म्यानमार, बंगलादेश, भारत हुँदै एसियाली राजमार्ग नेपालको काँकडभिट्टाबाट पूर्व पश्चिम महेन्द्र राजमार्गमा मिसिन्छ । साथै यो राजमार्ग नेपालको कोहलपुर वनवास हुँदै दिल्लीतर्फ सोझिन्छ ।
नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग हेभि इक्विपमेन्ट डिभिजन कार्यालय इटहरीका प्रमुख जगत प्रजापतिका अनुसार काँकडभिट्टादेखि लौकही सडक खण्डको ९७.७६० किमीमा तीन वटा ठेक्का र तीनसय मिटर भन्दा लामा पुलका लागि २ वटा ठेक्का अन्तर्गत हाल स्तरोन्नतिको काम भइरहेको छ । प्रमुख प्रजापतिका अनुसार काँकडभिट्टादेखि झापा दमकसम्मको ४५ किमी अजरवैजन कम्पनी युरो एसियन कस्ट्रक्सन कर्पोरेशन EVRASCON र नेपालको कालिका कस्ट्रक्सनको ज्वाइन्ट भेन्चरमा नेपाली रुपैया भ्याट सहित १०,०६९४८२७१२.९९ रुपैयामा स्तरोन्नतिको काम भइरहेको छ । मोरङ सडक खण्डको ४० किलोमिटर सडक खण्डमा चाइना रेल्वे फस्ट गु्रप कर्पोरेशन लिमिटेड र नेपालको तुन्दी कस्ट्रक्सन प्राइभेट लिमिटेडको ज्वाइन्ट भेन्चरमा नेपाली रुपैया ९१३८२२३७८५.६६ र सुनसरी तर्फको १०.७६० किमी सडक खण्डमा चाइना ओभरसिज इन्जिनियरिङ्ग ग्रुप कम्पनी लिमिटेड, चाइना रेल्वे २ नं. इन्जिनियरिङ्ग ग्रुप कम्पनी लिमिटेड र तुन्दी कस्ट्रक्सन प्राइभेट लिमिटेडको ज्वाइन्ट भेन्चरमा नेपाली रुपैया ५९७८५८८४७३.७० को लागतमा काम भइरहेको छ ।
पुल निर्माणमा समेत चिनियाँ कम्पनी अगाडि
झापातर्फको अर्थात काँकडभिट्टादेखि ४५ किमी सडक सडक डिभिजन कार्यालय दमकले र मोरङ, सुनसरी सडक खण्डको ५२.७६० किमी सडक हेभी इक्विमेन्ट डिभिजन कार्यालय इटहरीले सुपरभिजन गर्दै आएका छन् । स्तरोन्नति हुँदै गरेको सडक खण्डमा तीन सय मिटर भन्दा लामा ६ वटा पुलहरु समेत रहेका छन् । झापा सडक खण्डतर्फ कन्काई, विरिङ्ग र निन्दा रहेका छन् भने मोरङ्ग सडक खण्डतर्फ रतुवा, बक्राहा,लोहन्द्रा रहेका छन् । निन्दा, विरिङ र कन्काई पुलको निर्माण चाइना ओभरिसिज इन्जिनियरिङ्ग गु्रुप कम्पनी लिमिटेड, चाइना रेलवे नं. २ इन्जिनियरिङ्ग ग्रुप कम्पनी लिमिटेड र तुन्दी कस्ट्रक्सन प्रा.लिको ज्वाइन्ट भेन्चरमा निर्माण भइरहेका छन् । जसको लागत भ्याट सहित रु ५,९७८५८८४७३.७० रहेको छ । यसैगरि रतुवा, बक्राहा र लोहोन्द्र खोलाको पुल समेत चाइना ओभरसिज इन्जिनियरिङ्ग गु्रप कम्पनी लिमिटेड, चाइना रेल्वे २ नंं इन्जिनियरिङ्ग गु्रप कम्पनी लिमिटे्ड र तु्न्दी कस्ट्रक्सन प्राइभेट लिमिटे्डले ज्वाइन्ट भेन्चरमा निर्माण कार्य गरिरहेका छन् । जसको लागत मूल्य भ्याटसहित रु ५६५२६७१५०४.६४ रहेको छ । निर्माणाधीन सडक खण्डमा दमकको सुपरभिजनमा रहेको सडकमा साना तथा तीन सय मिटर भन्दा कमका २६ वटा पुलहरु रहेका छन् भने हेभि इक्विमेन्ट डिभिजन कार्यालय इटहरीले सुपरभिजन गरेको खण्डमा २१ वटा पुल रहेका छन् ।

तपाईको प्रतिक्रिया