धरान । विद्यालयमा अध्ययन गर्ने विपन्न परिवारका विद्यार्थीहरुलाई सहयोग गर्ने उदेश्यसहित सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार गर्ने, विद्यार्थीहरुलाई चाहिने भौतिक पूर्वाधार निर्माण गर्ने अभिप्रायले धरान ८ ल्याबोरेटरी माविले वडामा रहेका सबैलाई समावेश गरेर एक दिन विद्यालय प्रांगरणमै देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । सामुदायिक विद्यालयप्रति सबैको दायित्व बुझाउदै उठेको रकमबाट शैक्षिक क्षेत्रमै सहयोग गर्ने उद्देश्यले विगत बर्षदेखि विद्यालयले विद्यालय प्रांगरणभित्रै देउसी भैलो कार्यक्रमको आयोजना गरिएको हो ।
धरानकै पुरानो मानिएको धरान ८ मा रहेको ल्याबोरेटरी माविले विद्यालयको शैक्षिक गुणस्तर, भौतिक संरचना निर्माण लगायतका कामलाई अगाडि बढाउन वडाबासीलाई समावेश गरेर देउसी भैलो कार्यक्रमको आयोजना गरेको हो । सबैको सहभागितामा आयोजना गरिएको कार्यक्रमबाट ६७ हजार रुपैया संकलन भएको विद्यालयका प्रद्यानाध्यापक उत्तम सुवेदीले जानकारी दिनुभयो । उहाँले प्रत्येक बर्षको तिहारको अन्तिम दिन आयोजना गर्दै आएको देउसी भैलो कार्यक्रमबाट संकलन भएको रकमले विद्यालयको शैक्षिक क्षेत्रमा खर्चसँगै आर्थिक अभाव भएका विद्यार्थीहरुलाई सहयोग गरिने जानकारी दिनुभयो । देउसी भैलो कार्यक्रममा सहभागी धरान उपमहानगरपालिका ८ नं. वडा समितिका वडाध्यक्ष धनबहादुर राईले यस्ता कार्यक्रमले नेपालीहरुको संस्कार सँस्कृति जर्गेनासँगै विद्यालयको शैक्षिक गुणस्तरमा समेत सहयोग पुग्ने बताउनुभयो । देउसी भैलो कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजमा प्रतिष्ठित व्यक्तित्व, वडाबासी, विद्यार्थी तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।