धरान । ज्यान मारेको उद्योगमा कारागारमा रहेका फरार एक कैदीलाई एक कैदीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । भारतको विहार राज्य सुपोल जिल्ला शिवनगर ग्राम पञ्चायत रानीगञ्जमा बहिनीको घरमा बस्दै आएका विनायक कुमार यादव जिल्ला सुनसरी साविकको प्रकाशपुर–६ बस्ने ३९ बर्षीय केशव कार्कीको हत्यापश्चात झुक्का कारागारमा राखिएको थियो । गोली लागी घाइते भएका कार्कीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । मधेश आन्दोलनका वेला मधेशी मुक्ति टाइगरमा समेत आवद्ध रहेका यादवलाई हत्या पश्चात प्रहरीले खोजतलास गर्दा २०६५ साल वैसाख १६ गते सिक्सजर रिभोल्भर एकथान सहित त्यसमा लाग्ने ११ राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका उनलाई जिल्ला अदालत सुनसरीले २० बर्ष ८ महिना १४ दिन जेल सजाए तोकेको थियो ।
पटक पटक फरार सुचिमा परेका उनी पहिलो पटक ०६९ कार्तिक २३ गते कारागारको दक्षिण साइडको भित्री पर्खाल खनेर भागेका थिए । त्यसबेला उनीसँगै १२ जना कैदी झुक्का कारागारबाट फरार रहेका थिए । फरार रहेका उनलाई प्रहरीले खोजतलासलाई तिब्रता दिए लगत्तै जिल्ला प्रहरीका कार्यालय सप्तरीले गोवरगाडाबाट प्रक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय सप्तरीले कैद भुक्तानीका लागि सिन्धुपाल्चोक कारगारामा लाने क्रममा दोस्रो पटक २०७२ वैसाख १२ गते फरार रहेका थिए । फरार पश्चात भारतको विहार राज्य सुपोल जिल्ला शिवनगर ग्राम पञ्चायत रानीगञ्जमा बहिनीको घरमा बस्दै आएको बुझिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद तिम्सिनाले जानकारी दिनुभयो । प्रहरीको फरार सूचिमा रहेका यादवलाई प्रहरीले दोस्रो पटक भारतबाट नेपाल छैठ पर्व मनाउन आएको बेला नेपाल भारत सीमा नजिक कोशी गाउँपालिका ८ पन्थर चट्टान भन्ने स्थानबाट जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरीचौकी कोशी व्यारेजको संयुक्त टोलीले पक्राउ गरिएको प्रवक्ता तिम्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार छैठ पर्व मनाउने सूचना पाए लगत्तै प्रहरीले सीमा क्षेत्रमा उनको निगरानीमा कडाई बनाएको थियो । प्रहरीको घेरामा परिसकेका उनी भाग्न खोज्दा प्रहरीले गोली प्रहार गर्नुपरेको प्रवत्ता तिम्सिनाको भनाई छ । प्रहरीको गोली खुट्टामा लागेका उनी भाग्न नसकेपछि प्रहरीले प्रक्राउ गरी जेल सजाय भोगचलनका लागि पुन ः जिल्ला अदालत सुनसरी पठाइएको उहाँको भनाई छ ।फरारपछि पक्राउ परेका यादवलाई कारागार ऐन २०१९ को दफा २४ को उपदफा ३ बमोजिम बाँकी कैद भुक्तानीका लागि पठाइएको प्रवक्ता तिम्सिनाको भनाई छ ।