धरान । व्याडमिन्टन खेल धेरै पुरानो र लोकप्रिय खेल हो । फुटबल पछि धेरै खेलिने खेलमा व्याडमिन्टन पर्छ । तर फुटबलको विकासमा राज्यले जति लगानी गरेको छ त्यति व्याडमिन्टन खेलको विकासमा भने लगानी गरेकै छैन भन्दा पनि हुन्छ । नेपालबाट समेत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यो खेलमा प्रतिनिधित्व जनाउने काम भए पनि सबै यस खेलको प्रवद्र्धनमा जुटेकाहरुको प्रयासले गर्दा नै हो । व्याडमिन्टन खेल प्रतियोगिता सन् १९८२ देखि ओलम्पिकमा समावेश भएको मानिन्छ । स्वास्थ्य जीवन र मनोरञ्जनका लागि खेलिने यो खेल सबै उमेर समूहका महिला तथा पुरुषमात्र हैन अपांगहरुले समेत खेल्ने गरेका छन् । यति लोकप्रियता कमाइसकेको व्याडमिन्टन खेल प्रदेश स्तरीय र राष्ट्रिय स्तरका प्रतिष्पर्धात्मक खेल हुन नसक्दा युवा खेलाडीहरु पलायन भएर सक्षम खेलाडी उत्पादनमा ह्रास आउदै गएको छ । व्याडमिन्टन खेललाई समय सापेक्ष विकास गर्दै जानुपर्छ भन्ने उद्देश्य बोकेर धरान व्याडमिन्टन क्लबले यही असोज १७ गतेदेखि पहिलो पटक प्रदेश स्तरीय व्याडमिन्ट खेलको प्रतिष्पर्धा गराउन लागिएको धरान व्याडमिन्टन क्लबका सदस्य खगेन्द्र मेन्याङबोले जानकारी दिनुभयो ।
तीन दिनसम्म चल्नै सो प्रतियोगिता धरान १३ को अमर सेवा समाजको कवर्ड हलमा सञ्चालन हुनेछ । प्रतियोगितामा विभिन्न समूहका ४ सय भन्दा बढी खेलाडीहरुले सहभागिता जनाउदैछन् । व्याडमिन्टन खेलको विकासका लागि पहिलोपटक कोशी प्रदेश स्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका उपसचिव अर्जुन मेन्याङबोले बताउनुभयो । आयोजकका अनुसार प्रतियोगितामा मेन्स डबल ओपन, ४५ बर्ष भन्दा माथिको भेट्रान्स, ५५ बर्ष माथिको सुपर भेट्रान्स, ३५ बर्षसम्मका मिक्स डबल औपन पुरुष र लेडिज डबल्स ओपन प्रतियोगता हुने भएको छ ।
प्रतियोगितामा मेन्स डबलतर्फको विजेताले १ लाख १५ हजार, दोस्रो हुने टिमले ५५ हजार र तेस्रो हुने टिमले १५–१५ हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि ४५ बर्ष माथिका भेटूान्स, ५५ बर्ष माथिको सुपर भेट्रान्स, लेडिज डबल्स र मिक्स डबल तर्फ प्रथम हुने टिमले ६५ हजार, दोस्रो हुने टिमले ३३ हजार र तेस्रो हुने टिमले ११–११ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा २२ लाख ६८ हजार लाग्ने आयोजकले जनाएको छ ।