प्रदेश नं. १ को सभामुखमा भण्डारी

धरान÷प्रदेश नं. १ को सभामुखमा प्रदीपकुमार भण्डारी सर्वसम्मत निर्वाचित हुनु भएको छ । सुनसरी क्षेत्र नं. १ को प्रदेश सभा (क) बाट अत्याधिक वहुमतले निर्वाचित हुनु भएका भण्डारी झण्डै ३७ बर्षसम्म शिक्षण पेशामा आवद्ध हुनुहुन्थ्यो ।
अत्यन्तै शिष्ट र शालीन ६३ बर्षीय भण्डारी वि.सं. २०२७ सालदेखि वामपन्थी आन्दोलनमा लाग्नु भएको हो । एमाले
धरान नगर कमिटीको इन्चार्ज, जिल्ला सदस्य हुँदै अन्य धेरै कमिटीगत जिम्मेवारी सफलतापूर्वक सम्हाल्नु भएका भण्डारी २०७२ सालमा शिक्षण पेशाबाट निवृत्तभरण हुनुुभएको थियो । धनकुटा पुख्र्याली थलो भए पनि
धरानलाई कर्मक्षेत्र बनाउनु भएका भण्डारी वि.सं. २०१२ सालमा जन्मनु भएको थियो । ३७ बर्षसम्म शिक्षा सदन माविमा विज्ञान शिक्षकका रुपमा काम गर्नुभएका भण्डारीलाई सोमबार बसेको प्रदेशसभाको वैठकले सर्वसम्भत रुपमा सभामुखमा चयन गरेको हो ।
विराटनगरमा आइबार बसेको एमालेको संसदीय दलको बैठकले भण्डारीलाई सभामुखमा चयन गर्ने निर्णय गरेको थियो । एमाले प्रदेश नं. १ का संयोजक भीम आचार्यले भण्डारीलाई सभामुखमा सर्वसम्मतका लागि प्रस्ताव गर्नुभएपछि उहाँको नाममा सहमति जुटेको थियो । यस भन्दा अगाडि अर्थात माघ २६ गते संसदीय दलको नेतामा शेरधन राईलाई निर्वाचित गरेको थियो । राई एमाले अध्यक्ष केपी ओली पक्षधर मानिन्छन् भने सभामुखमा सर्वसम्मत हुनुभएका भण्डारी माधव नेपाल पक्षधरका मानिनु हुन्छ ।

तपाईको प्रतिक्रिया