पूर्वराजा ज्ञानेन्द्र शाह र भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच सोमबार डेढ घन्टा वार्ता भएको छ । मध्यपश्चिम र सुदूरपश्चिम नेपालको निजी भ्रमणमा रहनु भएका शाह आइतबार नेपालगन्जबाट लखनउ पुग्नुभएको थियो ।
पूर्वराजाले आदित्यनाथको सरकारी निवास कालिदासमार्गमा सोमबार बिहान ९ देखि साढे १० बजेसम्म भेटवार्ता गनुभएको थियोे । मुख्यमन्त्री आदित्यनाथले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेश राज्यमन्त्री जनरल भिके सिंहसँग पूर्वराजासँग तय भएको भेटबारे छलफल गर्नुभएको थियो ।
नेपालमा २०६५ सालमा गणतन्त्र स्थापनापछि पूर्वराजा ज्ञानेन्द्र साहले औपचारिक रूपमा भेट्नु भएका सबैभन्दा उच्च भारतीय अधिकारी आदित्यनाथ हुन् । आदित्यनाथले विगतमा लोकसभा सांसदका रूपमा पूर्वराजा ज्ञानेन्द्रसँग पटक–पटक भेटवार्ता गर्नुभएको थियो । उहाँहरूबीच पछिल्लो भेट २०७३ कात्तिक पहिलो साता काठमाडौंमा भएको थियो । ४ देखि ६ कात्तिकसम्म काठमाडौंको वनकालीमा विश्व हिन्दू महासंघद्वारा आयोजित विराट हिन्दू सम्मेलनमा सहभागी हुन योगी नेपाल आउनु भएको थियो । कार्यक्रममा दुवैजना सँगै हुनुहुन्थ्यो भने आदित्यनाथले पूर्वराजासँग अलग्गै भेटवार्ता गर्नुभएको थियो । त्यसवेला शंकराचार्य वासुदेवानन्द र भाजपा नेता रघुनन्दन शर्मा पनि भेटवार्तामा साथै हुनुहुन्थ्यो । त्यसको एक वर्षअघि नवलपरासीको प्रतापपुरमा आयोजित कार्यक्रममा पनि पूर्वराजा ज्ञानेन्द्र साह र आदित्यनाथ सँगै
हुनुहुन्थ्यो । दुवैले हिन्दू सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो ।
के भयो ४५ मिनेट एक्लाएक्लै वार्तामा
पटक–पटक दिल्ली भ्रमणमा जाँदा पूर्वराजाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष अमित शाह, महासचिव राम माधवसँग भेटवार्ता
गर्नुभएको थियो । तर, ती सबै भेटवार्ता सार्वजनिक भएका थिएनन् । स्रोतका अनुसार भेटवार्ताको सुरुमा विश्व हिन्दू महासंघका अध्यक्ष भरतकेशर सिंह पनि सहभागी हुनुहुन्थ्यो । ‘सुरुवातमा पूर्वराजासँग महासंघका अध्यक्ष सिंह, पूर्वराजाका स्वकीय सचिव सागर तिमल्सिना तथा आदित्यनाथका सेक्रेटरी र उत्तरप्रदेश
सरकारका उच्च अधिकारी सहभागी थिए । औपचारिकतापछि दुवैजनाका बीचमा ४५ मिनेट एक्लाएक्लै कुराकानी पनि भयो,’ भेटवार्ताबारे स्रोतले भन्यो । आदित्यनाथ अहिले पनि विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष र सिंह अध्यक्ष हनुहुन्छ । महासंघको अन्तर्राष्ट्रिय समितिले नेपालमा हिन्दू राष्ट्र र
राजसंस्था पुनर्बहाली हुनुपर्ने माग गर्दै आएको छ । बिहान ९ बजे मुख्यमन्त्री आदित्यनाथले पूर्वराजालाई निवासको बाहिरी गेटमै स्वागत गर्नुभएको थियो ।
हरेक दिन आदित्यनाथलाई भेट्न सर्वसाधारणको भीड लाग्ने गरे पनि सोमबार सर्वसाधारणसँगको भेटको कार्यक्रम रद्द भएको थियो । भेटलगत्तै मुख्यमन्त्री आदित्यनाथले तीनवटा तस्बिर सार्वजनिक गर्नुभएको थियो । उहाको ट्विटमा उल्लेख छ, ‘आज लखनउस्थित
सरकारी आवासमा नेपालका पूर्वराजा श्री ज्ञानेन्द्र वीरविक्रम शाहजीले भेट गर्नुभयो, उहाँलाई अंगवस्त्र र कुम्भको लोगो
दिएँ ।’ एक वर्षपछि उत्तरप्रदेशको प्रयागमा कुम्भमेला आयोजना गर्न लागेका आदित्यनाथले पूर्वराजा ज्ञानेन्द्र साहलाई निमन्त्रणासमेत दिनुभएको छ । ज्ञानेन्द्र साह बिहीबार नेपालगन्ज हुँदै काठमाडौं फर्किने कार्यक्रम छ ।
निर्मलनिवास स्रोतका अनुसार
भारतीय राजदूत मन्जिबसिंह पुरी र पूर्वराजाबीच धुलिखेलमा मंसिर पहिलो साता भेट भएको थियो । ६ देखि ९ मंसिरसम्म द्वारिकाज रिसोर्टमा रहनु भएका ज्ञानेन्द्र सालाई भेट्न पुरी त्यहाँ पुग्नुभएको थियो । ‘त्यतिवेलै पूर्वराजाको यो भ्रमण तय भएको हो, भारत सरकारको पूर्णतयारीसाथ उहाँलाई लखनउ बोलाइएको हो,’ स्रोतले बतायो । ‘ज्ञानेन्द्र साहको लखनउ भ्रमण दसैँ र तिहारको बीचमा नै हुने तयारी थियो, तर निर्वाचनको समय पारेर उहाँको भ्रमण गराउँदा राम्रो सन्देश जाँदैन भन्ने लागेपछि मंसिर पहिलो साता राजदूतले उहाँलाई भेटेर यो मिति तय गरेका गर्नुभएको थियो्,’ स्रोतले भन्यो ।
धुलिखेलमा तय भएपछि पूर्वराजाको भारत भ्रमणबारे महासंघ अध्यक्ष भरतकेशर सिंहले पदाधिकारीसहित प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलाई भेटेर जानकारी गराउनु भएको थियो । देउवा र ओलीले पूर्वराजालाई ‘ग्रिन सिग्नल’ दिएको महासंघ स्रोतको भनाइ छ । त्यसवेला देउवाले हिन्दू राष्ट्रको पक्षमा आफू रहेको तथा राजसंस्था हटाउन आफ्नो भूमिका नरहेको जवाफ महासंघ पदाधिकारीलाई दिनुभएको थियो ।

