देउवा हटाउन कोर टिम

राजधानी÷नेपाली काँग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवाको विकल्प खोज्ने भन्दै युवा नेताहरुको नयाँ टिम बनेको खुलासा भएको छ ।
स्रोतका अनुसार महामन्त्री डा. शशांक कोइरालालाई सभापति बनाउने गरी युवा नेताहरुको कोर टिम गठन भइसकेको छ । सशांकलाई सभापति मानेर जानेबारे प्रकाशमानसिंह, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी लगायतका युवा नेताहरुको कोर टिम बनेको हो । महामन्त्रीमा शेखर कोइराला र विश्वप्रकाश शर्मालाई अगाडि सार्ने स्रोतको दाबी रहेको छ । त्यस्तै उपसभापति र संसदीय दलको नेतामा प्रकाशमन सिंह र सह–महामन्त्रीमा चन्द्र भण्डारीलाई अगाडि सार्ने बताइएको छ ।
नयाँ टिममा पूर्व नेविसंघका अध्यक्षहरु भण्डारी र शर्मा रहेका छन् । त्यस्तै टिममा नेताहरु महेन्द्र शर्मा, गोविन्द भट्टराई र सञ्जय गौतम पनि रहेका छन् । त्यस्तै कृष्णप्रसाद सिटौलाको क्याम्प परिवर्तन गरी नेता भीमसेन दाश प्रधान पनि नयाँ टिममा सहभागी
रहेको बताइएको छ । नेपाली काँग्रेसले इतिहासमै नव्योहोरेको हार यसपटकको निर्वाचनमा व्यहोरेको छ । चुनाव
गराएर प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले जस लिए पनि हार व्यहोर्नु परेको भन्दै असन्तुष्टि व्याप्त छ । देउवा निकटस्थहरुले पनि उनीप्रति आक्रोश पोखिरहेका छन् । चुनाव हार्नुमा देउवाको विवादास्पद कदम मुख्य जिम्मेवार हो भन्ने
आरोप उनीहरुले लगाएका छन् । देउवाका अभिव्यक्तिहरु समेत विगतमा विवादमा परेका थिए । विवादास्पद बोलीका कारण नेपाली काँग्रेसप्रति मतदाताको आकर्षण घट्यो । देउवा आइजिपी प्रकरण हुँदै महाअभियोग र राजदुत प्रकरणमा विवादमा मुछिए । आइजिपीहरुको दरबन्दी थपेको थप्यै गर्दा समेत विवाद बढ्यो । देउवाको कदमले पार्टीलाई नोक्सान भएको विश्लेषण काँग्रेसभित्र भएको छ ।
देउवाप्रति पार्टीभित्र आक्रोस बढिरहँदा उनका पक्षधरहरुले संविधान कार्यान्व्यनका लागि हुनुपर्ने चुनाव गराएकोले जित भएको तर्क गरिरहेका छन् । तर देउवाबाट पार्टी नचल्ने भन्दै नेतृत्व परिवर्तनको आवाज पनि उनीहरुले उठाएका छन् । यसलाई थामथुम पार्न देउवालाई सहज छैन । विशेष अधिवेशनको समेत आवाज उठिरहँदा त्यसलाई व्यवहारमा उतार्ने क्षमता असन्तुष्ट नेताहरुमा होला कि नहोला ? विशेष महाधिवेशन बोलाए देउवाको विकल्पको खोजी अहिल्यै हुन सक्छ । तर काँग्रेसभित्र विशेष महाधिवेशन भइहाल्ने सम्भावना अहिले छैन । अहिले देउवाको विकल्प सशांक हुनसक्ने भन्दै देशभरिका नेता तथा कायकर्ताले त्यस्तो दबाब दिएका हुन् । उनीहरुले सशांकलाई पार्टी नेतृत्वमा स्थापित गर्दै पार्टीमा युवा नेताहरुलाई स्थापित गर्न समेत दबाब दिएका छन् ।

तपाईको प्रतिक्रिया