सोलुखुम्बु, नेचा सल्यान गाउँपालिकास्थित तिङ्लाबासीले स्थानीय चुनावमा भागै लिएनन्, न वडाबाट उम्मेदवार उठे न मतदान गरे। मतदाता परिचयपत्र लिन समेत गएनन् ।
प्रतिनिधिसभा र प्रदेशसभा चुनाव पनि सिंगो गाउँले बहिष्कार गर्ने निर्णय गरेको छ । यहाँ कांग्रेस, एमाले र माओवादीसहित प्रमुख दलहरुले नै मिलेर चुनाव बहिष्कार गरेको स्थानीय सोभित बस्नेतले बताए ।
तिङ्लाको मुख्य विवाद भनेको यसलाई सोलु दूधकुण्ड नगरपालिकामा गाभ्ने कि नेचा सल्यान गाउँपालिकामा गाभ्ने भन्ने हो । अहिले नेचा सल्यान गाउँपालिकामा गाभिएको छ, जबकि स्थानीयवासी सोलु दूधकुण्ड नगरपालिकामा रहन चाहन्छन् ।
आफ्नो त्यही चाहना सरकारले नसुनेको भन्दै तिङ्ला गाउँले मतदान बहिष्कार गर्ने निर्णय गरेको संघर्ष समितिका संयोजक बालकुमार कार्कीले बताए । ‘हामी चुनावका विरोधी होइनौं। हाम्रा माग नसुनेपछि सरकारलाई चेतावनी दिन मतदान बहिष्कार गर्ने निर्णय गरेका हौं,’ उनले भने ।
स्थानीय सरकारले उनीहरुको मागअनुसार तिङ्लालाई सोलु दूधकुण्ड नगरपालिकामा गाभ्न सिफारिस गरेको थियो । त्यो सिफारिससमेत सरकारले नसुनेको भन्दै स्थानीय बासिन्दा यसपालि झन् रुष्ट छन् ।
भदौ १६ गते नेचा सल्यान गाउँ कार्यपालिकाले आफ्नो वडा नम्बर ६ मा पर्ने तिङ्ला गाउँलाई सोलु दूधकुण्ड नगरपालिकामा पठाउने निर्णय गरेका थियो । भदौ २९ गतेको गाउँसभाले त्यो एजेन्डा पास ग¥यो ।
सोलु दूधकुण्ड नगरपालिकाको भदौ ३१ गतेको सभाले पनि उक्त गाउँलाई आफूमा गाभ्ने निर्णय ग¥यो । उक्त निर्णय मन्त्रिपरिषदबाट पास गराउन स्थानीय डेलिगेसन आए । सरकारले सुनेन ।
कार्कीका अनुसार मंसिर ३ गते उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए । देउवाले मुख्य सचिवलाई बोलाएर तिङ्लालाई सोलु दूधकुण्डमा गाभ्ने प्रक्रिया थाल्न निर्देशन पनि दिएका थिए ।
‘हाम्रै अघि उहाँले आफ्ना स्वकीय सचिव र सरकारका मुख्यसचिवलाई तिङ्लालाई सोलुमा राख्ने प्रक्रिया थालिहाल्न निर्देशन दिनुभएको थियो,’ उनले भने, ‘हाम्रा अघि त्यसो भने पनि अन्त्यमा सरकारले बेवास्ता ग¥यो । निर्णय गरेन । हामीलाई झूटो आश्वासन दिइयो । हामी फेरि निर्वाचन बहिष्कार गर्ने निर्णयमा पुग्यौं ।’
स्थानीयका अनुसार नेचा सल्यान गाउँपालिकाको केन्द्र बेतघारी भन्ने ठाउँमा छ, जहाँ पुग्न तिङ्लावासीलाई ८ घन्टा लाग्छ । उता, तिङ्लाबाट सोलु दूधकुण्ड नगरपालिका २० मिनेट पैदल दुरीमा पर्छ । यति नजिकको नगरपालिकाबाट छुट्टयाएर लगभग दिनभरि लाग्ने नेचा सल्यान गाउँपालिकामा गाभिएकाले तिङ्लावासी रुष्ट भएका हुन् ।
स्थानीय तह पुनर्संरचना छलफल क्रममा तिङ्लालाई सोलु दूधकुण्ड नगरपालिकामै गाभ्न जिल्ला प्राविधिक सहयोग समितिले सिफारिस गरेको थियो । तिङ्लाका जनताको चाहना पनि यही थियो ।

