आगामी मङ्सिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि मोरङ क्षेत्र नम्बर ६ बाट नेपाली काँग्रेसको तर्फबाट काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले उम्मेदवारी दिएका छन् । उनलाई पार्टी भित्र अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गराउन सक्ने नेताका रूपमा पनि लिइन्छ । मुलुकमा शान्ति स्थापना गर्न माओवादीसँग भएको १२ बुँदे समझदारीमा पनि कोइरालाको भूमिका देखिएको थियो । डा. कोइरालालाई नेपाली राजनीतिमा कोइराला परिवारको
विरासत स्थापित गराउन काँग्रेसको भावी पार्टी सभापतिका रूपमा पनि कार्यकर्ताले हेर्ने गरेका छन् । साविक मोरङ ७ बाट यस अघिका निर्वाचनमा दुई पटक निर्वाचित भएका डा. कोइरालाको पहलमा विराटनगरमा केही ठुला विकासका योजना पनि आएका छन् । नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्यमा रूपमा रहेका कोइरालाले यस पटक मोरङ क्षेत्र नम्बर ६ बाट चुनाव लड्दै गर्दा के के एजेण्डा अघि सारेका छन् ? चुनावी गतिविधि, योजना र राष्ट्रिय राजनीतिका विषयमा कुराकानी ः
निर्वाचनको तयारी कस्तो हुँदैछ ?
–निर्वाचनको तयारीमै छु । घरदैलो कार्यक्रममा व्यस्त छु । निर्वाचन प्रचार प्रसारमा पार्टी पंक्ति जुटीरहेको छ । यहाँका जनताले पहिला पनि मलाई जिताएर पठाउनु भएको हो । जनताका आाशा गरेका कतिपय कुराहरू पुरा पनि भएका छन् । यहाँका जनताको थप आवश्यक्ताको बारेमा बुझ्ने प्रयास
गरिरहेको छु ।
तपाईका चुनावी एजेण्डा के छन् ?
–मेरा व्यक्तिगत भन्दा पनि हाम्रो पार्टीले एजेण्डा तय गरिसकेको छ । तिनै एजेण्डालाई संस्थागत गर्ने दायित्व मेरो पनि हो । लोकतन्त्रलाई सुदृण गर्दै जनताको आशा गरेको विकासलाई पुरा गर्ने हाम्रो पार्टीको दायित्व हो । र त्यो पुरा गर्ने मेरो पनि दायित्व सम्झीएर जनतामाँझ गएको छु ।
तपाईँ (हाल मोरङ ६) यस क्षेत्रबाट पहिला पनि निर्वा्चित हुनु भयो । अहिले पनि यसै क्षेत्रबाट चुनावमा उठ्नु भएको छ । यस क्षेत्रका एजेण्डा चैँ के छन् ?
–हो, मलाई यस क्षेत्रका जनताले यस अघि पनि दुई पटक निर्वाचित
गराएर पठाउनु भयो । त्यसको
परिणाम यहाँका जनताले महसुस
गरिसक्नु भएको छ । यहाँका बाटा घाटा, पुल पुलेसादेखि आधारभूत आवश्यक्ताका पूर्वाधार निर्माणमा मैले गरेको योगदान देखिनै रहनु भएको छ । स्वभाविक हो । सबैको इच्छा बढ्दै जान्छन् । यस क्षेत्रका जनतालाई के भन्न चाहन्छु भने । लोकतन्त्रलाई अग्रणी भूमिका खेलेको थलो विराटनगर हो । नेपालको
परिवर्तनको क्रान्तिका थालनी यसै क्षेत्रबाट भएका छन् । विराटनगर देश विदेशबाट पनि हेरिरहेको क्षेत्र हो । त्यसमा पनि जननायक वीपी कोइरालाको भूमिका, युगपुरुष
गिरिजाप्रसाद कोइरालादेखिको इतिहास जोडिएको क्षेत्र विराटनगर हो । नेपाली काँग्रेस यस क्षेत्रको लागि नौलो होइन । आशा छ यहाँका जनताले यति ठुलो त्याग गरेको नेपाली काँग्रेस यसै भूमिका जनताले कहिल्यै विसर्नु हुँदैन र लोकतन्त्रको रक्षाका लागि र विकासको लागि नेपाली काँग्रेसलाई भोट दिनु हुनेछ ।
तपाईका विकासका योजना चाहिँ के के छन् ?
–पहिलो कुरा त एक नम्बर प्रदेशको राजधानी विराटनगर बनाउने हो । त्यो सँगै धेरै विकास भइनै हाल्छ । बुढीगंगा गाउँपालिकालाई नगरपालिकामा परिणत गर्ने । पूर्वाञ्चल विश्वविद्यालयको हाता भित्र एक वर्ष भित्र मेडिकल कलेज स्थापना गर्ने । ६ नम्बर क्षेत्रमा फुसका घरमा जस्ता लगाउने । गुणस्तरीय शिक्षा दिनका लागि अग्रेजी माध्यमबाट पठाइ
गराउने । सरकारी स्कुलबाट १० कक्षाबाट ७० प्रतिशत अङ्क ल्याउनेलाई शैक्षिक ल्यापटप प्रदान गरिने छ । बाढी पीडित र सुकुम्वासी बस्तीलाई उचित व्यवस्थापन गर्ने । साथै गछिया खोला, बुढी खोला सिंगियाई तहस नहस
गरेको छ । त्यसको तटबन्धनको लागि दु्रत गतिमा काम भरहेको छ । र थप निर्माण गरिने छ । जातीय संग्रहालय बनाउने, यस क्षेत्रका ठुला बाटा पाँच वर्ष भित्रमा कालोपत्रे गरिने लगायतका यहाँका जनताको माग बमोजिम विकास निर्माणका काम गर्ने योजना छ ।
तपाईँले राष्ट्रिय राजनीतिमा पनि राम्रै भूमिका निर्वाह गर्दै आउनु भएको छ । अहिले प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा जुटी सकेको बेला बाम गठबन्धन भएको छ । यसलाई कसरी हेर्नु भएको छ ?
यो बाम गठबन्धन भन्दा पनि यसलाई म कम्युनिस्टको गठन्धन हो भन्न चाहन्छु । यसले नेपाली काँग्रेसलाई केही असर गर्दैन । यसले देशलाई असर गर्छ । शान्ति प्रक्रियामा आई सकेको नेपालमा यो गठबन्धनले
धुर्वीकरण बढाउने सम्भावना बढेको छ । नेपाल अहिले धुर्वीकरणमा जान थाल्यो भने मुलुकमा अप्ठ्यारोमा पर्छ । नेपाल दुई ठुला मुलुकको बिचमा रहेको सानो देश हो । एकातिर लोकतान्त्रिक मुलुक छ भने अर्को तिर कम्युनिस्ट शासन भएको मुलुक छ । दुवै देशको विकासको चासो पनि नेपालमा छ । त्योसँगै सामूहिक चासो पनि छ ।
विदेशी चासो र कम्युनिस्ट गठबन्धनमा के सम्बन्ध छ ?
–मुलुक धुर्वीकरणमा गए पछि
अन्तर्राष्ट्रिय चासो बढेर जानु स्वभाविक
हुन्छ । प्रचण्ड जीले मलाई १० वर्ष अघि नै भन्नु भएको थियो । हामी एक दलीय शासनमा जाने कुरा त म सँग गर्नु भएको थियो । उहाँले हामीले बहुदलबाद पनि नमान्ने बताउनु भएको थियो । अहिले एमाले अध्यक्ष केपी ओलीले दमकमा गएर के भन्नु भयो भने संसदीय व्यवस्था निर्विकल्प होइन । प्रचण्ड जीले १० वर्ष बोलेको कुरा र यस पछिका घटनाले पनि यो एकता भएको हुनसक्छ । यसले के हुन्छ भने मुलुक अप्ठ्यारोमा पर्न सक्छ । संसदीय व्यवस्था र बहुदलवाद नै अस्वीकार गर्ने खालेको वातावरण भयो भने मुलुकमा लोकतन्त्र माथि नै प्रश्न उठ्न सक्छ । कम्युनिष्टहरुको गठबन्धन विदेशी चासोमा भयो भएन थाहा भएन । तर, यो गठबन्धन पछि विदेशी चासो बढेर गएको छ । मुलुक भोलि
धुव्र्रीकरणमा गयो भने मुलुकमा फेरि समस्या आउन सक्छ ।
त्यसो हो भने लोकतन्त्रलाई संस्थागत गर्न तपाईहरु (नेपाली काँग्रेस) को भूमिका के रहन्छ ?
–हामी लोकतान्त्रिक विचार धाराका राजनीतिक दलहरूलाई एक ठाउँमा उभ्याउँछौं । उनीहरूसँग सहकार्य गरेर अघि जानु पर्छ । यो चुनावमा कसले जित्छ कसले हार्छ भन्ने ठुलो कुरा होइन । हामी त मधेसका मुद्दा, थारुका मुद्दा, आदिवासी जनजातिका मुद्धालाई समेटेर लैजाने पक्षमा थियौँ । संविधान संशोधन गर्ने तयारीमा थियौँ । एमाले बाधक
भयो । अब त्यसमा माओवादी पनि मिसिएको छ । यसले अब सबैका भावना समेटेर संविधान संशोधन गर्ने कुरामा समस्या हुन सक्छ ।
मुलुक गणतन्त्रमा गइसक्यो । अब तपाईँको पार्टीले जनता केन्द्रित कार्यक्रम कसरी ल्याउँदै हुनुहुन्छ ?
–जनताको त इच्छा आकांक्षा विकासको कुरा छ । बौद्धिक सर्कलको लागि यस्ता विषयमा गम्भीर छन् । कसरी लोकतन्त्रलाई बचाउने भन्ने विषयमा । तर, अधिकांश प्रतिशत जनताहरू विकासको आशा गरिरहेका छन् । सडक, बत्ती, खानेपानी, शिक्षा स्वास्थ्य जस्ता आधारभूत आवश्यक्ता पुरा होस् भन्ने चाहन्छन् । हामीले उठाएका विषय पनि यिनै हुन् । लोकतन्त्रलाई बचाउँदै जनतालाई विकासको महसुस गराउने हाम्रो दायित्व हो । यसबाट नेपाली काँग्रेस कहिल्यै पछि हट्दैन ।
यस क्षेत्रका मतदातालाई केही भन्नु छ ?
–यस क्षेत्रका मतदाता म बाट
अपरिचित हुनुहुन्न । हिजो यो क्षेत्र कुन अवस्थामा थियो । अहिले के कति विकास भए । त्यसको पनि यहाँका जनताले मूल्याङ्कन गर्नु हुनेछ । यस क्षेत्रमा अझै धेरै विकास गर्नु छ । त्यो यहाँका जनताको चाहना पनि हो । गएको साउनमा बाढीले यहाँका बस्ती डुवानमा पर्दाको पिडा पनि मलाई थाहा छ । म आफैँ पनि बाढी ग्रस्त क्षेत्रमा आएर जे जति हुन्छ सहयोग गरेको सबैले देख्नु भएकै छ । त्यस बाहेक यहाँका बाटाघाटा,पुलपुलेसा निर्माणदेखि गरिबीको धरातलबाट माथि उकास्न मैले अझै धेरै प्रयास गर्नेछु । शिक्षा, स्वास्थ्य, रोजगार सिर्जना गराएर युवाहरूलाई पनि बाहिर जान नपर्ने खालको वातावरण बनाउन पनि म भूमिका खेल्नेछु । मुलुकको प्रजातान्त्रिक आन्दोलनको थलो हो यो विराटनगर । अहिले लोकतन्त्रको रक्षा गर्दै विकासको लागि पनि यहाँका जनताले रुख चिन्हमा मत दिएर म लगायत नेपाली काँग्रेसलाई जिताएर लोकतन्त्रको रक्षा र विकास गर्ने मौका दिनु हुनेछ भन्ने भन्न चाहन्छु ।
