धरानका पर्यटकीय स्थल अझै ओझेलमा

धरान÷ धरान उपमहानगरपालिकाभित्र मात्र दर्जनौ भन्दा बढी पर्यटकीय स्थल रहेका छन् । तर उपमहानगरपालिकाले यस क्षेत्रको पहिचान गरेर विकास गर्न भने सकेको छैन ।
धरानमा विष्णुपादुका गाविस तथा पाचकन्या गाविस गाभेर उपमहानगरपालिका बनेपछि तराई तथा पहाडका अत्यन्तै महत्वपूर्ण ऐतिहासिक पर्यटकीय क्षेत्रहरु धरान उपमहानगरपालिकामै पर्ने गरेको छ । तर पनि उपमहानगरपालिकाले यस्ता क्षेत्रको पहिचान गर्न नसकेको स्थानीयहरु गुनासो गर्ने गरेका छन् ।
साविकको पाचकन्या गाविस तथा हालको धरान उपमहानगरपालिका वडा नं. ४ मा पर्ने शिवजट्टा धार्मिक ऐतिहासिक क्षेत्रको रुपमा लिने
गरिएको छ । सत्ययुगमा महादेवले शतिदेवीको मृत शरीर बोकेर हिड्ने क्रममा यस क्षेत्रमा शतिदेवीको पीठ झरेको र महादेवले यही झर्नामा नुहाएको किवन्दीका आधारमा यस गाउको नाम नै शिवट्टा रहन गएको स्थानीयहरुको भनाई छ ।
धरान उपमहानगरपालिकाभित्रै पर्ने यस स्थानमा पुग्न धरानको मुख्य चौक भानुचौकबाट ५ किमीको पूर्व उत्तर कच्ची बाटो तय गर्नुपर्ने हुन्छ । ऐतिहासिक क्षेत्र भएकै कारण यस ठाउँमा महादेवको मन्दिर छ तर
संरक्षणको अभाव छ भने प्रमुख आकर्षकका रुपमा शिवजट्टा झरना रहेको छ ।
२५ घरधुरी रहेको शिवजट्टा गाउँ समय अनुसार पाँचकन्या गाविसबाट धरान उपमहानगरपालिकामा त गाँभियो तर विकासले भने कुनै गति नलिएको स्थानीय शुभलक्ष्मी राई बताउनुहुन्छ ।
पछिल्लो समय शिवजट्टाको धार्मिक महत्वलाई बुझेरै होला त्यहाँ वाहय पर्यटक भन्दा पनि आन्तरिक पर्यटकहरुको घुइचो लाग्ने गरेको छ । विशेषत ः शिवजट्टा झर्नामा रमाउनेको संख्या दिनप्रतिदिन बढ्दै गएको स्थानीय गंगाप्रसाद राई बताउनुहुन्छ । प्रचारप्रसार र प्रर्याप्त बजेट नभएकै कारण शिवजट्टामा सोचेजस्तो पर्यटक आउन नसकेको उहाको भनाई छ ।
रमणीय झरना हेर्न झरनामा रमाउनकै लागि अहिले पूर्वका विभिन्न स्थानबाट यस ठाउमा आउने गरेका छन् । त्यहा आउने पर्यटकहरुले
झरनाको मनोरम दृश्यले मनै लोग्याउने गरेको बताउने गरेका छन् ।
विगतमा धरानदेखि नै पैदलै हिड्नुपर्ने बाध्यता भए पनि अहिले भने कच्ची सडक निर्माण भएका कारण दुईचक्के मोटरसाइकल तथा तीनचक्के टेम्पोसम्म त्यस स्थानमा पुग्न थालेको छ । यसले गर्दा टेम्पो चालकहरुलाई समेत मनग्य आम्दानी हुने गरेको टेम्पो चालकहरु बताउछन् । बाटो अप्ठ्यरो भएका कारण धेरै आन्तरिक पर्यटकलाई यहासम्म ल्याइ पु¥याउन धेरै सास्ती भोग्नु परेको बताउदै बाटो निर्माण भए अझ यस स्थानर्मा आउनेको संख्यामा वृद्धि हुने टेम्पो चालक रोमस बस्नेत बताउनुुहुन्छ ।
धरानको सम्पत्ति भएर पनि धरान उपमहानगरपालिकाले यस क्षेत्रको विकासमा खासै ध्यान नदिएको भएपनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने यस क्षेत्रको विकासका लागि बार्षिक २ लाख रुपैया दिने गरेको छ । खानेपानीको सम्पूर्ण आपूर्ति बीपीले शिवजट्टाबाट गर्ने गरेको छ । यस ठाउको विकासमा धरान उपमहानगरपालिका लाग्ने हो भने धरानलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने उपमहानगरपालिकाको योजना साकार हुने निश्चित छ । होइन भने योजना योजनामै सीमित नहोला भन्न सकिन्न ।

तपाईको प्रतिक्रिया