वाम धुवीकरणले उब्जाएका केही प्रश्न

जीवन क्षेत्री
संसारमा अहिले सम्भवतः सबैभन्दा बढी दमन र हिंसाका आडमा जुन देशको सत्ता टिकेको छ, त्यसको नाम हो–लोकतान्त्रिक जन गणतन्त्र कोरिया अर्थात् डेमोक्रेटिक पिपुल्स रिपब्लिक अफ कोरिया, जसलाई उत्तर कोरिया भनेर चिनिन्छ ।
संसारभरको वाम राजनीतिमा व्याप्त वचन र कर्मको खाडलको यो नमुना उदाहरण हो। विभिन्न देशहरुमा धेरथोर सक्रिय रहेका वाम शक्तिहरुभित्र रहेको त्यस्तो खाडल उत्तर कोरियाको ‘वर्कर्स पार्टी’ मा जति
गहिरो नभए पनि त्यसको उपस्थिति जबर्जस्त
छ ।
नेपाल र भारत जस्ता देशमा आधा शताब्दीभन्दा लामो इतिहास बोकेका वाम पार्टी हुन् वा पछिल्ला केही दशकमा नयाँ वाम उभारका अगुवा मानिएका भेनेजुएला र ब्राजिलका वाम पार्टी हुन्, उनीहरुको कथनी र करनीबीच देखिएको भेदको खाडलका कारण उनीहरुको विश्वसनीयता सधैंभर प्रश्नवाचक चिन्हभित्र छ ।
जहाँ उनीहरुको प्रतिद्वन्द्वी गैर–वामहरु पनि नेपालाम झैं त्यस्तै खाडल बोकेर हिंडिरहेका छन्, त्यहाँ वाम पार्टीहरुले त्यही विश्वसनीयताको अभावकै कारण ठूलो संकट वा अर्थ्विहीनता भोग्नु परेको छैन, त्यो बेग्लै कुरा हो ।
तर, विश्वभर अहिले मध्य–दक्षिण ९सेन्टर राइट० मानिने उदारवादी किल्लाहरु भत्केर तिनको ठाउँ अतिवादी दक्षिणपन्थी र राष्ट्रियतावादीहरुले लिइरहँदा तिनका वाम प्रतिस्पर्धीले छलाङ नमार्नुमा वाम पार्टीहरुले त्यसरी भोगिरहेको विश्वसनीयताको संकटलाई एउटा महत्वपुर्ण कारणका रुपमा लिइन्छ ।
विचारका हिसाबले अति वामपन्थबाट सुरु गरेर तत्काल मध्यपन्थ नजिकै रहेको म व्यक्तिगत रुपमा मानव जातिको असीम वैचारिक सम्भावनाका सामु वामपन्थ–दक्षिणपन्थ विभाजनलाई एउटा सानो आयामका रुपमा लिन्छु ।
राजनैतिक सहजता (एक्स्पिडिएन्सी)का लागि अनावश्यक रुपमा बेलुन झैं फुलाइए पनि व्यवहारिक जीवनमा नागरिकलाई वाम वा गैर–वाम कस्तो पार्टीबाट शासित छु भन्ने कुराले तबसम्म कुनै फरक पार्दैन जबसम्म नेपालमा झैं लुटधन्दामा दुवै पक्षको प्रतिस्पर्धा हुन्छ । अनि, देश र समाजलाई अगाडि धकेल्ने कुरामा दुवै पक्ष उत्तिकै असफल प्रतित हुन्छन् ।
त्यसो हुँदाहुँदै पनि अहिले भइरहेको वाम गठबन्धन र एकता प्रक्रियाले त्यसमा सामेल दलहरुका उत्तर कोरियाली श्रमिक पार्टी मार्काका केही अडानहरुलाई उदांगो पारिदिएको छ। ती पार्टी त्यसका लागि जवाफदेही होलान् भनेर हैन कि हाम्रो समयको रेकर्डका रुपमा कुनै न कुनै रुपमा सुरक्षित होऊन् भनेर अहिलेको एकता प्रयासले उठाएका केही प्रश्नहरु म लिपीबद्ध गर्दैछु ।
प्रश्न १) अलि पुरानो पृष्ठभूमि जे भए पनि अहिलेको ध्रुवीकरणको तत्कालीन र निर्णायक कारण स्थानीय चुनावमा एमालेले आँकेझैं काँग्रेस र माओवादी धुलिसात नहुनु हो। अर्थात् अबको आम चुनावपछि काँग्रेस–माओवादी गठबन्धन कायम रहेको अवस्थामा एमाले दीर्घकालसम्म सत्ताबाट विमुख हुने अवस्था आउन लागेका आकलनका कारण एमाले माओवादीलाई सम्मानजनक स्थान दिएर तालमेल र एकतामा जान लागेको कुरा घामजस्तै छर्लंग छ ।
बहुमत निश्चित नभए पनि एमाले ठूलो पार्टी बन्ने निश्चितजस्तै भएपछि माओवादीले पनि तुलनात्मक रुपमा बलियै शक्तिसित मिल्यो भने दीर्घकालसम्म आफ्नो स्वार्थ पूर्ति हुने देखेरै ऊ गठबन्धन बदल्नमा लागेको कुरा प्रष्टै छ । विशुद्ध सत्ता
राजनीतिमा घुमेको यो समीकरणमा कुनै दल वाम हुनु वा नहुनुको के तालुक छ जसले गर्दा यसलाई वाम ध्रुवीकरणका रुपमा प्रचार गरिएको छ?
प्रश्न २) नाममा मार्क्सवाद र लेनिनवाद भएको एमाले र नाममा माओवाद भएको माओवादी मिलेपछि पार्टीको नाम के रहला? वाम राजनीतिका तीनै धरोहर समेटिएलान् कि व्यवहारिक रुपमा दुवै पार्टीहरुले अँगालेको ‘क्रोनी क्यापिटलिजम्’ले स्वीकार्यता पाएर नामसम्म पुग्ला ?
प्रश्न ३) संविधानमा देशलाई समाजवाद उन्मुख भनिए पनि अहिले एमाले र माओवादी दुवै पार्टी अर्को दल काँग्रेससित मिलेर धमाधम आफ्नो व्यापार र धन्दा मौलाउने गरी कानुनै बनाएर सांगोपांगो नीतिगत भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् । त्यही बाटोमा हिँडेर देश समाजवादमा पुग्ने हो? सार्वजनिक शिक्षा डुबाउने ऐन ल्याउने र पार्टीले चलाएका निजी स्कुल पोस्ने, पार्टीको मेडिकल कलेज र विश्वविद्यालय खोल्न कानुनै बदल्ने वा बनाउने, मन परेका पार्टी कार्यकर्तालाई न्यायाधीश बनाउने र मन नपरेको फैसला गर्ने न्यायाधीशलाई महाभियोग लगाउने, अख्तियारजस्ता निकायमा दलैपिच्छे भ्रष्टाचारको संरक्षण गर्ने गरी भागवण्डामा नियुक्ति गर्ने र चौतर्फी दण्डहीनता सिर्जना गर्ने, समाजवादको बाटो यही हो? किम जोङ उनको देश लोकतान्त्रिक जन गणतन्त्र हुन सक्छ भने यही दिशामा अघि बढे हाम्रो देश कसो समाजवादी गणतन्त्र नबन्ला भन्ने उनीहरुको धारणा हो ?
प्रश्न ४) अहिलेसम्म एमाले र माओवादीबीच पानी बाराबारको स्थिति ल्याउने मुद्दाहरु कसरी सल्टिने हुन् ?
जस्तो कि, काँग्रेससहित माओवादीहरुलाई भारतको दलालीका पर्यायका रुपमा चित्रित गरेर त्यसको सापेक्षमा आफूलाई अकण्टक राष्ट्रवादी ठह¥याएको र त्यसैका बलमा ठूलो राजनीतिक पुँजी र जनमत बटुलेको एमालेले अब आफूभित्र समाहित भइसकेको माओवादीलाई कसरी हेर्ने हो ? कि एमालेसित मिलेर फेरि एकपल्ट प्रचण्डले भारतविरुद्ध साइकल राष्ट्रवादयुक्त एउटा भाषण गरे भने त्यो माओवादीलाई सुनपानी छर्केर राष्ट्रवादी कित्तामा गृहप्रवेश गराउन यथेष्ट हुने हो ? कि त्यसको बदला भारतको सापेक्षमा कसैलाई थाहै नदिई एमालेले माओवादीको लाइन अंगीकार गर्ने हो? दुवै अवस्थामा, भारत नीति र राष्ट्रियतालाई लिएर कुनै बेला माओवादी–एमालेबीच चलेको सैद्धान्तिक बहस के मिथ्या नाटक वा खोल थियो ? जसलाई सत्ता
राजनीति र स्वार्थ छोपेर राख्न प्रयोग गरिएको थियो? मलगायत राजनीतिलाई नजिकबाट हेर्ने धेरैलाई सुरुबाटै के हेक्का थियो भने, उही दलले भारतविरुद्ध सुरुङयुद्ध घोषणा गरेको एकाध वर्षमा उसैको आशीर्वादमा सत्तामा पुग्ने नेपाली राजनीतिमा
राष्ट्रियतालगायतका सबै खुड्किलाहरु सत्तामा पुग्ने भर्याङका हिस्सा मात्रै हुन् । तर काँग्रेस र माओवादीको सापेक्षमा राखेर जुन राष्ट्रवादको नारा पछिल्लो समयमा एमालेले उठायो, त्यसलाई साँचो ठानेर त्यसकै आधारमा नेपाली राजनीतिमा चासो राख्न र आफ्नो राजनीतिक धारण बनाउन थालेको ठूलो हिस्सा अहिले नेपालमा छ ।

तपाईको प्रतिक्रिया