विराटनगर ÷ विराटनगर विमानस्थलमा यात्रुहरुको समान हातले खानतलासी गरेर जाँच गर्न थालिएको छ । अत्याधुनिक कम्प्युटराइज्ड प्रविधिको एक्सरे मेसिन बिग्रिएपछि सुरक्षाकर्मीले हातैले खनतलासी गर्न थालेका हुन् ।
गत साउनमा आएको भीषण बाढीले मेसिन डुबाएपछि बिग्रीएको बताइएको छ । करिब डेढ महिनादेखि एक्सरे मेसिनले काम नर्गदा विमानस्थल भएर यात्रा गर्ने यात्रुहरुले सास्ती खेप्नु परेको छ ।
विमान उड्ने समय भन्दा धेरै नै अगाडी आएर आफ्नो ब्याग र लगेज लिएर लाइनमा पालो पर्खनुपर्ने र त्यसमा पनि धेरै नै समय लाग्ने भएको यात्रुले बताए । प्रत्येक झोलाको सामान खोतालेर देखाउदा झन्झट हुने भएकाले बिग्रिएका मेसिन मर्मत गर्न अथवा नयाँ जडान गर्न सरकारले ढिला गर्न नहुने उनीहरुले बताए ।
मेसिन बिग्रिँदा यात्रुको चाप र लगेजको अधिक संख्याका कारण जाँच गर्न निकै समय लाग्ने भएको हुँदा झन्झट भएको सुरक्षाकर्मीले बताए । विराटनगर विमानस्थलका प्रमुख सुरेशमान सिंहले मेसिन बिग्रदा सुरक्षा चुनौती थपिनुका साथै यात्रु, सुरक्षाकर्मी र विमानस्थल प्रशासनलाई समेत कठिनाइ भएको बताए ।
मेसिन बिग्रिएको यति समय लाग्दा समेत नयाँ मेसिनको प्रबन्ध हुन नसकेको विमानस्थल प्रशासनको गुनासो छ । नयाँ मेसिन खरिद गर्न केही समय लाग्ने भए त्यति समयका लागि वैकल्पिक व्यवस्था गर्न नागरिक उड्यान प्राधिकरणलाई पत्राचार समेत गरेको सिंहले बताए ।

