सेउती खोलामा अवैधरुपमा बालुवा–गीटि उत्खनन्

धरान ÷ धरानस्थित सेउती खोलाबाट खोलाजन्य बस्तुको अवैध उत्खनन् हुने गरेको पाइएको छ । अनाधिकृतरुपमा स्काभेटर प्रयोग गरी नदी जन्य पदार्थ ढुङ्गा, गिटी र बालुवा उत्खनन् हुने गरेको हो । सरकारले मानववस्ती, पुल, मोटरबाटो, वन क्षेत्र र सार्बजनिक स्थलको ५ सय मिटर वरपर खोला उत्खनन् गर्न प्रतिबन्ध लगाएको भएपनि धरानको सेउती खोलामा भने निर्वाधरुपमा ढुंगा, गिटी र बालुवाको तस्करी भइरहेको छ । तरपनि प्रशासनले भने देखेको नदेखे झैं गरेको भन्दै स्थानीयबासी आक्रोशित भएका छन् । उनीहरुले नदिजन्य पदार्थ उत्खनन् रोक्न र ठेकेदारलाई कारवाही गर्न प्रशासनसँग माग पनि गरेका छन् । इनरुवाका ठेकेदार जयप्रकाश साहले स्काभेटर र ट्रिपर प्रयोग गरी नदीजन्य पदार्थको उत्खनन् गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले भने अनाधिकृतरुपमा स्काभेटर प्रयोग गरी नदीजन्य पदार्थको तस्करी गर्नेलाई कारवाही सुरु गरिसकेको जनाएका छन् । को १ ख १७६७ नम्बरको स्काभेटर, को १ ख ५६४७ नम्बरको ट्रिपर सहित चालकहरु महेश यादव र कुमार कार्कीलाई पक्राउ गरी कानुनी कारवाही अगाडि बढाइएको उनले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया