बोलबममा भक्तजन थपिदै

धरान÷ गएको दुई सोमबार भन्दा यस पटकको सोमबारमा भक्तजनहरुको भीड अत्याधिक बढेको छ । गत साउन २ र ९ गते भन्दा आज बोलबम भक्तजनहरु दोब्बर आएको पिण्डेश्वर बाबाधाम समितिले जनाएको छ ।
भक्तजन पिण्डेश्वर बाबाधाममा अत्याधिक भीड बढेका कारण सुरक्षाकर्मी, त्यहा खटिएका स्वयम्सेवकलाई भीड नियन्त्रण गर्न नै धौ धौ परेको छ ।
गत हप्ताको दुई सोमबार भन्दा पनि यो सोमबार दोब्बर भक्तजन आएको पिण्डेश्वर बाबाधाम समितिले जनााएको छ । समितिका सचिव जयन्त गौतमले यो समेबारमात्र १ लाख ५० हजार भक्तजन जल चढाउन यस मन्दिरमा आएकोले भीड नियन्त्रण गर्न कठिनाई परेको बताउनुभयो । उहाले यसपटकदेखि बनारसमा गरिने गंगायज्ञ पिण्डेश्वर मन्दिरमा गरिन थालेकाले पनि भीड बढेको बताउनुभयो । भीडलाई व्यवस्थापन गर्न सशस्त्र प्रहरी, जनपथ प्रहरी, स्वयम्सेवक खटाइएको समेत उहाले जानकारी दिनुभयो ।
त्यसो त भक्तजनहरु पनि यस्ता समस्याको कुनै प्रवाह नगरी जल चढाउन विहानैदेखि लाइनमा छन् । विगतमा विहान ५ बजेमात्र मन्दिरको ढोका खोलिने गरिएको पिण्डेश्वर मन्दिरमा यसबर्षदेखि भने भक्तजनहरुलाई भीडको महसुस नहोस्, विना झन्झट जल चढाउन पाउन् भन्ने उद्देश्यले सोमबार मध्यान्ह १२ बजेदेखि खोलिए पनि आज भने भीडका कारण भक्तजनहरु धेरै समय लाइनमा बस्न बाध्य हुनुपरेको थियो । सुनसरीको चतरामा रहेको सप्तकोशीबाट जल ल्याई १७ किमीको दुरी पार गरी धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा जल चढाउदा उनीहरु थकित भएपनि थकानको महसुस नभएको उनीहरु बताउछन् । आफूले चिताएको पुग्ने, परिवारको सुख शान्ति मिल्ने विश्वासका साथ महिला, वृद्धवृद्धा युवा पुस्ता सबैको उल्लेख्य उपस्थिति रहेको पाइन्छ । श्रावण महिनामा सप्तकोशीको जल ल्याई पिण्डेश्वर बाबाधाममा चढाउन सुख शान्ति मिल्ने उनीहरु बताउँछन् ।
पौराणिक ग्रन्थमा समेत उल्लेख भएको पिण्डेश्वर मन्दिरको महिमालाई बचाइराख्न २०३९ सालमा धरानका अग्रज समाजसेवीहरुले शुरु गरेको बोलबमको संख्या बढे पनि सुद्ध भक्तिका साथ आउने भक्तजनहरु कम भएको पहिलो पटक बोलबममा सहभागी धरान ३ की बोलबम अभियानकर्ता श्रीमति चन्दं्रकला अग्रवाल बताउनुहुन्छ । विगतमा धरानको पिण्डेश्वर मन्दिरलाई नेपालकै नमूना मन्दिरको रुपमा बनाउनुपर्छ भनेर लाग्नु भएकी अग्रवाल पिण्डेश्वर मन्दिरमा बोलबमको आगमनलाई बढावा दिन बनाइएको पिण्डेश्वर बाबाधाम समिति, त्यहा रहेका पुजारीले अझै सोचेजस्तो काम गर्न नसकेको गुनासो पोख्नुभयो ।
५० बर्षको उमेरमा पहिलो उहा लगायत अन्य साथीहरुसहित बोलबम जानु भएकी अग्रवालले धर्मको नाममा व्यापार गर्नु नहुने बताउदै पिण्डेश्वर मन्दिरका लागि प्रयोग भएको गुठी संस्थानको जग्गा दिनप्रतिदिन अधिकरण भएको प्रति चिन्ता व्यक्त गर्नुभयो । यसलाई रोक्न पनि समिति जागरुक हुन उहाले आग्रह गर्नुभयो । धरानका स्थानीयहरुबाट शुरुवात गरेको बोलबमको महिमा भारत लगायत नेपाल अधिराज्यभरि बढ्दै गएकोप्रति भने उहाले खुशी व्यक्त गर्नुभयो ।
३५ बर्ष अगाडि २५ जनाबाट शुरु गरिएको बोलबम अहिले नेपाल लगायत भारतका जल चढाउनकै लागि पिण्डेश्वर बाबाधाम समितिमा प्रत्येक बर्ष ५ लाख भन्दा बढी भक्तजनहरु आउने गरेका छन् । यसैलाई मध्यनजर गरी समितिले भक्तजनहरुको सुविधालाइ ध्यानमा राखेर धेरै कुरा सुधार गर्नुपर्ने स्थानीयहरुको समेत भनाई छ ।

तपाईको प्रतिक्रिया