धरान÷ पहिलो र दोस्रो चरणको निर्वाचन समाप्तीसगै जनप्रतिनिधिहरुले आफ्नो काम थालो छन् । यसै क्रममा प्रदेश नं. १ अन्तर्गत पर्ने सुनसरीका १२ स्थानीय तहमा निर्वाचन सम्पन्नसंगै नव जननिर्वाचित मेयर, उपमेयर, वडाअध्यक्ष तथा सदस्यहरुले आ आफ्नो कामलाई थालनी समेत गरिसकेका छन् ।
यसै क्रममा सुनसरीको धरान उपमहानगरपालिकामा समेत सोमबारबाट मेयर, उपमेयर, वडाअध्यक्ष, सदस्यहरुले पदभार ग्रहणसंगै कामलाई निरन्तरता दिएका छन् । २० बर्षपछि भएको स्वायत्त अधिकार सहितको स्थानीय निर्वाचनपश्चात निर्वाचित भएका प्रतिधिनिहरुले नगरको विकासका संगै हिजो प्रतिनिधि नहुदा कर्मचारीले काममा गर्ने गरेका ढिलासुस्ती, विकासले गति लिने र भ्रष्टाचार निर्मुल हुने कुरामा सर्वसधारणहरु विश्वस्तमात्र बनेका
छन् ।
धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बा, उपमेयर मञ्जु भण्डारी र धरानका २० वटा वडाका वडाअध्यक्ष वडा सदस्यहरुले सोमबारबाट धरानमा आफ्नो जिम्मेबार वहन गरेका छन् । जिम्मेवार वहन गर्दै मेयर तारा सुब्बाले सबै वडाअध्यक्ष, सदस्यहरुलाई आ आफ्नो वडामा गएर काम सम्हाल्न निर्देशन समेत दिनुभयो ।
मेयर सुब्बाले काम सम्हाल्ने वित्तिकै प्राथमिकतामा रहेका विकास निर्माणको कामलाई थालनी गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाले धरानको दीर्घकालीन खानेपानी समस्या समाधान, धरान ८ सुन्दरबस्तीमा निर्माण हुन लागेको बसपार्कको निर्माण कार्यलाई तिब्रता दिने प्रतिबद्धतासंगै सुकुम्बासीहरुलाई घर नम्बर र धनीपूर्जा वितरणका लागि पहल गरिने बताउनुभयो । धरानलाई आन्तरिक तथा वाह्य पर्यटनको हव बनाउने उद्देश्य अनुरुप काम थालनी गर्ने र धरानमा रहेका सडकका खाल्डाखुल्डी पुर्ने कामलाई पहिलो प्राथमिकतामा राखिएको बताउनुभयो । धरानको सडक मर्मत सम्भारका लागि १ करोडको कोष खडा गर्ने बताउदै एसियाकै नमूनाको रुपमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताबाहिर
रहेको खाल्डाखुल्डी सडकलाई पहिलो चरणमा मर्मत सम्भार गर्ने बताउनुभयो ।
नव निर्वाचित मेयर, उपमेयर, २० वटै वडाका निर्वाचित वडा अध्यक्षहरुको सम्मानमा सोमबारै उद्योग वाणिज्य संघको सभाहलमा नेपाल सुनचादी व्यवसायी संघले कार्यक्रम सम्पन्न गरेको थियो ।

