इनरुवा÷यही आषाढ १४ गते हुने स्थानीय तह अन्तर्गतको दोस्रो चरणको निर्वाचनमा सुरक्षालाई दृष्टिगत गरी नेपाल भारत सीमा बन्द हुने भएको छ ।
दोस्रो चरणको स्थानीय तह निर्वाचनका दिन विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यक्रम तय भएको हुँदा मतदाता कार्यक्रमलाई ध्यानमा राखी असार १२ गते विहीबारदेखि १४ गतेसम्म नेपाल भारत दुवै देशका सीमा सुरक्षा
अधिकारीहरुबाट सुनसरी, मोरङ्ग, झापा हुँदै भारततर्फ जाने र भारतबाट नेपाल आउने सम्पूर्ण सवारी साधन र पैदल यात्रामा रोक लगाइएको हो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीका अनुसार जेष्ठ २४ गते विहारको सुपौलमा नेपाल तर्फबाट झापा, मोरङ, सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, नापी, बन कार्यालयका प्रमुखहरु र भारतका किशनगञ्ज, अररिया, सुपौलका डिष्ट्रिक मजिष्टे«ड (डिएम), सुरक्षा प्रमुख तथा सम्बन्धित अन्य अधिकारीका बीचमा भएको छलफलले ७२ घण्टा नेपाल भारत सीमा बन्द गर्ने द्विपक्षीय सहमति भएको हो । सहमति अनुसार दोस्रो चरणमा प्रदेश नं. १ मात्र निर्वाचन हुने भएपछि असार १२ गतेदेखि १४ गतेसम्म झापा, मोरङ्ग, सुनसरीमामात्र नेपाल भारत सीमा बन्द हुने भएको हो । बन्दका समयमा सवारी साधनहरु, बस, ट्रक, टाँगा, अटो, रिक्सा, मोटरसाइकल, साइकल, ढुवानीका अन्य साधन, पैदल यात्रा सबैमा रोक लगाइएको छ ।
