धरान÷ स्थानीय तहको निर्वाचनमा महिलाको प्रतिनिधित्व उल्लेख्य भएको देखिए पनि दलहरुले मूख्य भूमिका रहने मेयरको पदमा महिलालाई उठाएको कमै पाइयो । मेयरमा महिला उठाए उपमेयरमा पुरुष र मेयरमा पुरुष उठाए उपमेयरमा महिला उठाउने भन्ने उल्लेख भएपनि केही यस्ता पार्टीले गठबन्धनको नाममा महिला उमेद्वारलाई पाखा लगाएर लगेका छन् ।
धरानकै हकमा कुरा गर्ने हो भने नेकपा एमालेका तर्फबाट मेयरमा तारा सुब्बालाई र उपमेयरमा मञ्जु
भण्डारीलाई अगाडि सारेको छ । त्यस्तै नेपाली काँग्रेसले मेयरमा तिलक राई र उपमेयरमा श्यामा रेग्मीलाई चुनावी मैदानमा उतारेको छ । तर नेकपा एमाओवादी जसले समासेवीको कुरालाई जोड दिदै आएको उसले भने गठबन्धनको नाममा मेयर र उपमेयरको दुवै पदमा पुरुषलाई नै अगाडि सारको छ ।
विगतमा माओवादीले उमेद्वारी सार्वजनिक कार्यक्रममा मेयर लगायत २० वटै वडाका वडाध्यक्ष लगायत सदस्यहरुको नाम सार्वजनिक गरे पनि उमेयरको नाममा तीन जनाको नाममा प्रस्ताव गरेको थियो । पार्टीका तर्फबाट चेतना सेरेङ, लक्ष्मी प्रधान र गंगा
बरालमध्ये एक जनालाई उपमेयर बनाउने कुरा पार्टीको गठबन्धनसंगै समाप्त भएर गएको छ ।
यसले उनीहरुको आत्मविश्वासका चोट लागे पनि अहिले उनीहरु पार्टीको निर्णयलाई आत्मसात गरेर गएको बताउछन् । संघीयता गठबन्धनलाई बलियो बनाउन भएपनि आफूहरुले उपमेयरको पद त्याग गरेको बताएका छन् उनीहरुले । यता माओवादी केन्द्रका पोलिट व्युरो सदस्य एवम् निर्वाचन परिचालन समितिका संयोजक मुक्साहाङ मेन्याङबोले अहिलेको स्थानीय चुनावमा पार्टीमा महिलाको उपस्थिति अन्य भन्दा बलियो भएको र उपमेयरमा गठबन्धनका कारण महिलालाई उठाउन नसकिएको बताउनुभयो । यता गठबन्धन गरेर गएको संघीय समाजवादी फोरमले समेत पार्टीमा महिला प्रतिनिधि नभएकै कारण पुरुषलाई अगाडि सारेर जानुपरेको बताएको छ । पार्टीका एक नं. प्रदेशकमिटीका संयोजक गजेन्द्र इस्वोले गठबन्धन गरेर जादा बलियो महिला प्रतिनिधि नभएकै कारण पुरुषलाई उपमेयरमा उठाउन बाध्य भएको बताउनुभयो ।
जे होस् संविधानमा पार्टीले पुरुषलाई मेयरको पदमा उठाएमा महिला अनिवार्य र महिलालाई मेयरको पदमा उठाए पुरुष उपमेयर अनिवार्य उल्लेख गरेको भएपनि गठबन्धनको नाममा पहिलो चरणको निर्वाचनमा समेत धेरै ठाउमा पालना नगरेको पाइएको छ ।
