एसियन प्रिमियर लिगमाथि नेपाली क्रिकेटरले उठाए प्रश्न

क्रिकेट प्लेयर एशोसिएन अफ नेपाल (सीपान)ले एसियन प्रिमियर लिग क्रिकेटमाथि प्रश्न उठाएको छ ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान समेत रहेका सीपानका महासचिव पारस खड्काले विज्ञप्ति जारी गर्दै एसियन प्रिमियर लिगबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् । काठमाडौंमा यो स्तरको प्रतियोगिता हुनु राम्रो भएपनि नेपाली खेलाडी र अफिसियलको सहभागिता नहुनु दुःखद भएको बताए ।
राखेपले अनुमति दिएको भनिएको यो प्रतियोगिताले नेपालको यू–१९ टोलीको बन्द प्रशिक्षण प्रभावित हुनेतर्फ पनि संघले चिन्ता व्यक्त गरेको छ । महासचिव खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसले स्थानीय खेलाडी र समग्र क्रिकेट विकासमा उल्लेख्य योगदान गर्दैन ।’
साथै प्रतियोगिताका लागि आईसीसी वा एसीसीबाट अनुमति नलिएको पाइएको संघले जनाएको छ । क्रिकेट प्लेयर एशोसिएन अफ नेपालले आयोजक, टिम बनर लगायतबारे यथेष्ट जानकारी नदिनुले प्रतियोगिताको आयोजना परादर्शी रुपमा नभएको समेत बताएको छ ।

तपाईको प्रतिक्रिया