धरानमा विमान स्थल बन्ने सम्भावना बढ्यो

धरान÷ धरानमा एयरपोर्ट बन्ने हो होइन बस्ने विषयमा अन्यौलता छाएको बेला विमान स्थल निर्माणका लागि दोस्रो चरणको सर्भे प्रक्रिया शुरु भएसंगै धराने जनता अब धरानमा एयरपोर्ट बन्नेमा विश्वस्त छन् ।
विगत १३ वर्ष देखि अन्यौलमा रहेको धरानको विमानस्थल निर्माणका विषयमा भएको अन्यौलता दोस्रो चरणको सर्भे प्रक्रियासंगै सर्वसाधारणको झिनो आशा पलाएको छ ।
मन्त्रिपरिषद्को गत असोज ३ गते बसेको बैठकले तत्काल वातावरणीय प्रभाव मूल्याङ्कन र बिस्तृत अध्ययनका लागि २ करोड रुपैयाँ रकम विनियोजन गरे पछि नागरिक उड्डयन प्राधिकरणले सर्भे टोलि खटाएको हो । यस अघि ट्वीनेटरका लागि सर्भे भएको थियो । तर धरानेहरुको चाहना अनुसार ४५ सिटे प्लेनका लागि एयरपोर्ट निर्माण गर्न दोस्रो पटक सर्भे कार्यको थालनी भएको हो । प्राधिकरणले टेण्डर आव्हान गरि रियल पाथ ईन्जिनियरिङ कन्सल्टेन्सी काठमाण्डौलाई सर्भे गर्ने ठेक्का दिएको थियो । कन्सल्टेन्सीले डूोन विधिबाट सर्भे शुरु गरेको परियोजनाका व्यवस्थापक एवम् धरान उपमहानगरपालिकाका सूचना अधिकृत भक्तिराज शर्माले जानकारी दिनुभयो ।
सर्भेका लागि ५ जनाको टोली धरानका आएको छ भने उनीहरुले १ महिना भित्रमा प्राधिकरणलाई सर्भे प्रतिवेदन बुझाउने एयकन्सल्टेन्सीका जिओ मेटिूक ईन्जिनियर अच्युतकृष्ण पाण्डेले बताउनुभयो । टोलिले दुई दिन एयरपोर्ट निर्माण स्थलमा सर्भे गने र एयरपोर्टको सम्भाव्यता अध्ययन गरि सम्बन्धित निकायमा प्रतिवेदन पेश गर्ने बताउनाुभयो ।
धरानमा एयरपोर्ट बनाउने भनेर ०६० सालमा धरान १७, डाँडाघोपामा यति इन्कर्पोरेट प्रालिले स्थानीयसग ७ बिघा ३ कट्ठा साढे ५ धुर जग्गा खरीद गरेको थियो तर यती ईन्कर्पोरेटलाई सरकारले अनुमती नदिए पछि एयरपोर्ट निर्माण अन्यौलमा रहेको थियो । स्थानीयको एयरपोर्ट बनाउने माग बढ्न थाले पनि सरकारले पहिलो पटक बजेट विनियोजन गरि प्रक्रिया शुरु गरेको छ ।
एयरपोर्ट निर्माणका लागि आवश्यक पर्ने जमिन धरान उपमहानगरपालिकाले उपलब्ध गराउने यस अघि नै बताइसकेको छ । क्रमगत रुपमा प्रक्रिया अगाडि बढेका कारण अब भने धरानका सर्वसाधारण विमान स्थल बन्नेमा आश्वस्त बनेका छन् ।

तपाईको प्रतिक्रिया