तत्कालीन गोर्खे राम्राज्य विस्तारका क्रममा वि.सं. १८३१ साउन २२ गते लिम्बुवानमा भएको नुनपानी सन्धीपछि क्रमशः लिम्बुवान राज्य कमजोर बन्दै गयो । अन्ततः आधुनिक नेपालका नाममा लिम्बुवानको भाषा, धर्म, संस्कार, संस्कृति नामेट पारियो । पहिचानविहीन बनाएर राज्यसत्ताले लिम्बुवान भूमिमा समेत एकाधिकार जमाएर लिम्बुवान राज्य पूर्ण रुपमा ध्वस्त पा¥यो । पछिल्लो समयमा सचेत युवाहरुको नेतृत्वमा लिम्बुवान राज्य पुर्नस्थापनाको माग सघन रुपमा उठ्यो । आफ्नो पूर्खाको बीरताको इतिहासलाई छलकपटपूर्ण रुपमा ध्वस्त गराउने राज्यसत्ता विरुद्ध लिम्बुवानबासी जनता पटक पटक आमनेसामने भएरै राज्यसँग संघर्ष हुँदै आएको छ । आफ्नो अस्तितव नै नामेट पार्न राज्यको सबै शक्ति प्रयोग गर्दै आएको एकल बाहुनवादी राज्यसत्ताको आडमा धरान उपमहानगरपालिकाले समेत लिम्बुवानको ऐतिहासिक राजधानी रहेको विजयपुर दरबार परिषरका भग्नावशेष समेत नामेट पार्ने गरी एडिवी खानेपानीको नाममा पानी ट्यांकी निर्माण गर्न लागेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । साथै उक्त कदम तत्कालै रोकी सरोकारवाला हामी लिम्बुवान पार्टी, संघ संस्था र जतीय संस्थाहरुसँग छलफल नगरी निर्माण कार्य अगाडि नबढाउन आग्रह गर्दछौं ।
धरानबासी जनताले विकास चाहेका छन् र पानी ट्यांकी निर्माण गर्नुमा आफैमा आवश्यकीय कार्य हुँदाहुँदै पनि ऐतिहासिक महत्व बोकेको सम्पदा नष्ट गर्न कसैलाई छुट छैन । त्यसैले ट्यांकी अरु नै उचित स्थनमा निर्माण गर्न धरान उपमहानगरपालिकालाीई आग्रह गर्दछौं । अन्यथा कानुन, प्रशासन र अन्य विषय अघि सारेर जबरजस्ती उक्त कार्य अगाडि बढाएमा लिम्बुवान सम्बद्ध पार्टी, भातृ संगठन, संघ संस्था लगायतको संयोजनमा आम लिम्बुवानबासी जनसमुदाय त्यसको प्रतिकारमा उत्रिने जानकारी दिन चाहन्छौं ।
एडिबी खानेपानी आयोजनाले धरानबासीलाई पानी संकलन गर्न भन्दै धरान १४ विजयपुरमा ट्यांकी निर्माणका नाममा ऐतिहासिक स्थलको नामेट गर्न लागेको हाम्रो ठहर भएका कारण स्थलगत अध्ययन गरी तत्काल काम रोक्न फागुन २५गते नै संघीय लिम्बुवान मञ्चको झण्डा गाडिसकेको सम्बन्धित सबैमा जानकारी गराउँदछौं । धरान उपमहानगरपालिकाले पञ्चकन्या क्षेत्र वि.सं. १८३१ सम्म लिम्बुवान राज्यको राजधानी र ट्यांकी निर्माण गर्न लागेको स्थल दरबारक्षेत्र भएकोले संरक्षण गर्नुको साटो ध्वस्त बनाई लिम्बुवानको चिनो समेत नामेट पार्न लागेकोले सम्पूर्ण लिम्बुवानबासी एक भएर जुनसुकै हालतमा पनि उक्त क्षेत्र अतिक्रमण गर्न नदिने स्पष्ट पार्न चाहन्छौं । उक्त क्षेत्रमा राजा बुद्धिकर्ण रायले निर्माण गरेको दरबार, पोखरी, गुफा, सेनाले परेड खेल्ने स्थान आदि पूरै संरचना भत्काइन लागेकोले हामी बाध्य भएर त्यसको प्रतिकारमा उत्रिएका हों । उक्त क्षेत्रमा अहिले पनि तत्कालीन लिम्बुवान राज्यको दरबारका अवशेषहरु रहेका छन् । उचित संरक्षणको अभावमा त्यहाँका ढुंगा, इँटा लगायतका पुराना सामाग्रीहरु चोरी हुन थालेको प्रति दुःख व्यक्त गर्दछौं । राज्यले त्यस्ता ऐतिहासिक स्थलको जगेर्ना गरी पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्ने ठाउँमा विकासको आश्वासन देखाई ऐतिहासिक पहिचान समेत मेटाउन लागिपरेकोले सरकोकारालाहरु एकजुट भएर सरकारको उक्त गलत कदमको विरोध गर्न समेत लिम्बुवानाबसी जनसमुदायमा अपिल गर्दछौं ।
देशमा सामुदायिक वन ऐन लागू हुँदा समेत ऐतिहासिक एवम् पुरातात्विक महत्वको वनको रुपमा छुट्टै व्यवस्था गरी तत्कालीन धरान नगर पञ्चायतलाई संरक्षणको जिम्मेवारी दिएको धरान १४ स्थित किरातकालीन राजधनीको
दरबारस्थलको पञ्चकन्या बनेको १ सय १८ वटा रुख हालै पानी ट्यांकी निर्माणका नाममा फडानी भएको छ । उक्त फडानी संरक्षणको जिम्मा लिएको उपमहानगरपालिककै सिफारिसमा भएकोले पाइएकोले त्यसको क्षतिपूर्ति र जिम्मेवारी उपमहानगररपालिकाले नै लिनुपर्ने हाम्रो ठहर छ । वन फडानी गर्दा नगरपालिकाले सरकोकारवालाहरुसँग छलफल समेत गरेको छैन । फडानी गर्नेबारे सार्वजनिक छलफल नगरी काम भएकोले हामीले तत्कालका लागि उपयोगमा रोक गर्नका लागि त्यहाँ लिम्बुवानको झण्डा गाडेका हौं । उक्त वनक्षेत्र स्थित पुरातात्विक महत्वको दरबारको भग्नावेष आफ्ना पूर्खाको राज्यकालमा विजयपुर राजधानी हुँदा दरबार भएको स्मृतिमा लिम्बु जातिको संगठन किरात याक्थुङ चुम्लुङ र राई जातिहरुको किरात राई यायोख्खाले उद्यौली, उभौलीमा विशेष पूजा अर्चना गर्दै आएको समेत सबैलाई थाहै हुनुपर्छ ।
ऐतिहासिक दरबार क्षेत्रलाई सामुदायिक वन बनाउनु नै महाभूल भएकोले यसलाई खारेज गरी साँस्कृति सम्पदाका रुपमा उक्त क्षेत्रलाई संरक्षण गर्न आवश्यक पहल थाल्न नेपाल सरकारलाई जोडदार माग गर्दछौं । यस विषयलाई गम्भीरतापूर्वक नलिई जबरजस्ती काम अगाडि बढाएमा उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयम् उपमहानगरपालिका हुनुपर्ने चेतावनी दिँदै आम लिम्बुवानबासी दाजुभाइ दिदीबहिनीहरु हाम्रो ऐतिहासिक लिम्बुवान राजदरबार क्षेत्रको संरक्षणमा जुटौ भन्दै यस कार्यमा समस्त राजनीतिक दल, बुद्धिजीवि, पत्रकार, मानवअधिकारवादी संघ संस्था, विद्यार्थी, युवा, महिला, मजदुर, किसान एवम् नागरिक समाजको साथ सहयोगको अपेक्षा गर्दछौं ।
गजेन्द्रमान चोङवाङ क्याक
(अभियान्ता)
