धरान÷राष्ट्रिय प्रजातन्त्र पार्टीको हालै सम्पन्न सुनसरी क्षेत्र नं. १ र धरान उपमहानगर समितिको एकता अधिवेशनले क्षेत्रीय सभापतिमा लक्ष्मण बस्नेत र धरान उपमहानगर समितिमा जुद्धबहादुर लोहनीलाई निर्वाचित गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको दुई महिना अगाडि एकीकरण भएपछि आगामी फागुन ५ गते राजधानीमा एकता महाधिवेशन हुन लागेको छ । एकता महाधिवेशन अगाडि अर्थात माघभित्रमा उक्त पार्टीको वडा, गाउँ, नगर, क्षेत्र र जिल्ला अधिवेशन सम्पन्न गरिसक्नु पर्ने हुन्छ ।
पूर्व भूमिसुधार मन्त्री तथा सांसद रामकुमार सुब्बाको प्रमुख आतिथ्यमा स्थानीय धरान सभागृहमा भएको अधिबेशनले क्षेत्रीय उपाध्यक्षमा तिलक बस्नेत र सुरेशकुमार श्रेष्ठ, सचिवमा नविन पराजुलीसहित २१ सदस्यीय कार्यसमिति चयन गरेको छ भने नगर उपाध्यक्षमा प्रकाश राई, प्रहलाद प्रसाद गजुरेल र सचिवमा मनिष भट्टराई सहित २५ सदस्यीय कार्यसमिति चयन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका ९ सय भन्दा बढी कार्यकर्ताको सहभागिता रहेको अधिवेशनको सभापतित्व अधिवेशन पर्यवेक्षक हरिकृष्ण श्रेष्ठले गर्नुभएको थियो भने सञ्चालन तिलकबहादुर बस्नेतले गर्नुभएको थियो ।
