तिमीलाई प्रेम गर्ने अपराधको, यो कस्तो सजा पाउदैछु
पहिले हुँदैनथ्यो यस्तो अनुभव, सजामा पनि मजा पाउदैछु
जति सताउनु छ दिनमै सताउ, छाडी दिए हुन्थ्यो सताउन राती
हरेक सपनामा हुन्छौं तिमी, नींदमा तिम्रै कब्जा पाउदैछु
हराएको विज्ञापन दिने बेलामा, दुर्लभ गुण थोरै भएपनि
नजर झुकाउनु गाला रातिनु, तिमीमा अलिअलि लज्जा पाउदैछु
आँटिलो भएको छ यो कायर छोरो, प्रेम मदिरा घुट्क्याए पछि
सानातिना नाथे बाधा टेरिदैन, जमानासँग जुझ्ने उर्जा पाउदैछु
जति स¥यो नजिक उति सर्छे टाढा, घटेन यो दूरी हामी बीचको
ठूस्केर बसेकी छे अलिकति पर, अतिक्रमण निषेध दशगजा पाउदैछु
गणित उसको प्रिय विषय, लेनदेन प्रेमको नहोला बेहिसाब
अहिलेको साँवाव्याज वसुल्ला पछि, हजुर सम्बोधन कर्जा पाउदैछु
बडो गजबको विनिमय चल्दैछ, घाटा नाफाको लेखाजोखा छैन
हरेक पटक महंगो चुम्बन, सस्तो उपहारको मुआब्जा पाउदैछु
अनुमान गर आफै प्रिय, तिमी हुँदा र नहुँदाको अन्तर
जुन जिन्दगी सजाउने सपना सजाए, त्यही जिन्दीमा नमज्जा पाउदैछु ।

