विराटनगर÷सुनसरीको खनारमा सोमबार दिउँसो प्रहरी र
आपराधिक समूहबीच गोली हानाहान भएको छ । र, घटनामा तीन जना घाइते भएका छन् ।
स(साना वित्तिय संस्थामा लुटपाट गर्ने, सीमा क्षेत्रबाट लागूऔषधको ओसारपसार तथा बिक्री वितरण गर्ने समूहमाथि अपरेसनका क्रममा घटना भएको प्रहरीले जनाएको छ । इटहरी–१४ अन्तर्गतको खनारस्थित सुनसरी
मोरङ सिंचाई आयोजनाको नहरखण्डमा भएको गोली हानाहानमा श्रवण
सरदार, करिश्मा चौधरी र सनद पासवान घाइते भएका छन् । उनीहरु
आपराधिक क्रियाकलापमा संलग्न भएको प्रहरीको दाबी छ ।
पूर्व क्षेत्रका डीआईजी केशरीराज घिमिरेका अनुसार प्रहरीलाई लक्षित
गरी तीन जनाको समूहमा गोली प्रहार गरेपछि प्रहरीले जवाफी कारबाही गरेको थियो । घटनास्थलबाट प्रहरी चार थान पेस्तोल समेत बरामद गरेको छ ।
मेड इन युएस लेखिएको दुई थान र अन्य दुई थान पेस्तोल बरामद भएको डिआईजी घिमिरेले बताए ।
‘केही दिनअघि मोरङको कर्सियामा भएको लुटपाटमा संलग्न भएकाहरु नै संलग्न भएकाहरुमाथि प्रहरीले निगरानी राखेको थियो’ डिआईजी घिमिरेले भने, ‘सो घटनाका एक अभियुक्तहरुलाई नियन्त्रणमा लिएका थियौं । अन्य तीन जना फरार थिए ।’ खनारको घटनामा फरार तिनै अभियुक्त हुन् । प्रहरीको गोली लागेर घाइते भएका उनीहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भइरहेको छ ।
पाँच दिन अघि सोही समूहले मोरङको कर्सियामा मोरङको कटहरीमा मुख्य कार्यालय रहेको वित्तिय संस्था जीवन विकास समाजका कर्मचारी ३५ बर्षीय घनश्याम बहरदार माथि दिउँसो १२ बजेतिर गोली प्रहार गरेर २ लाख बढी लुटपाट गरेको थियो । गोली प्रहार गर्ने मध्ये एक जनालाई प्रहरीले नियन्त्रण लिएको थियो । त्यसैगरी १ महिना अघि विराटनगरको रानीमा रहेको एक मनी एक्सचेञ्जका संचालक माथिपनि गोली प्रहार गरी ३ लाख रुपैयाँ लुटेको प्रहरीको दाबी छ ।
