नेपाली भाषा साहित्यका सेवी कमलमणि दीक्षितको निधनले नेपाली वाङ्मयमा अपूरणीय क्षति पुगेकोे छ । नेपाली भाषा, साहित्यको लेखन, सम्पादन, अन्वेषण एवम् श्रीवृद्धिमा योगदान पुर्याएका दीक्षितको ८७ वर्षको उमेरमा निधन भयो ।
विसं २०१३ देखि कलम चलाउनुभएका उनले पहिलोपटक ‘यस्तो पनि’ कृति लिएर उनी नेपाली साहित्यमा उदाएका हुन् ।हालसम्म उनका विभिन्न विधाका ६० भन्दा बढी कृति प्रकाशित छन् । दीक्षित ले २२ वटा पत्रपत्रिका तथा विभिन्न पुस्तकमा सम्पादन गरेका छन् ।
तीन वटा बाल साहित्यको दीक्षितले अनुवाद गर्नुभएको छ । विसं।२०१२ मा खुलेको मदन पुरस्कार गुठीको सदस्य सचिव भएर उनले विसं २०४९ सम्म र त्यसपछि अध्यक्षका रुपमा काम गरे ।
विसं २०१३ देखि२०४९ सम्म मदन पुरस्कार पुस्तकालयको सञ्चालक (लाइब्रेरियन) र त्यहाँबाट हालसम्म पुस्तकालयको अध्यक्षका रुपमा स्व दीक्षितले काम
गरे । पुस्तकालयमा दर्ता भएका ३८ हजार पुस्तकमध्ये साढे ३६ हजार दीक्षितले आफ्नै हस्ताक्षरले दर्ता गरेको पुस्तकालयका अनुसन्धाता दीपक अर्यालले जानकारी दिए ।
‘दुई महिना अघिसम्म दीक्षितले पुस्तकालयमा आएर नयाँ आएका पुस्तक दर्ता गर्नुहुन्थ्यो, नेपाली भाषामा लेखिएका भेटिए जति पुस्तक पुस्तकालयमा छन, गोरखापत्रको पहिलो अङ्कदेखिका सबै सङ्ग्रह यहाँ छन, उहाँले नै गोरखापत्रको न्वारान गर्नुभएको हो, त्यही मितिमा अहिले
गोरखापत्रले वार्षिकोत्सव मनाउँछ– अनुसन्धाता अर्यालले भने ।
दीक्षितले गोरखापत्र प्रकाशन भएको वास्तविक मिति पत्ता लगाउनु अघि वार्षिकोत्सव समेत मनाइँदैन थियो । ‘संवत् १९५८ ज्येष्ठ वदी ३ सोमबार’ भनेर लेखिएको गोरखापत्रको पहिलो अङ्कको मितिका आधारमा दीक्षितले १९५८ वैशाख २४ गते सोमबार हो भनेर पत्ता लगाएपछि वार्षिकोत्सव मनाउन थालिएको गोरखापत्रका प्रबन्ध सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’ बताउछन् ।
‘गोरखापत्र प्रकाशनको मिति पत्ता लगाउनु भएकैले उहाँलाई गोरखापत्रको पुरेत भनिन्छ, दीक्षितले जुराएको मितिमै अहिले गोरखापत्रले वार्षिकोत्सव मनाउँछ–उनले भने ।
दीक्षित नेपाली भाषा साहित्यका बारेमा कलम चलाउनेलाई माया गर्ने व्यक्तित्वका रुपमा आफूले पाएको साहित्यकार एवम् नेपाली विषयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली बताउछन् ।
छन्दका कविता लयमा गाउन सिकाउनुहुने, नेपाली भाषा साहित्यमा जसले जे लेखे पनि जय जय गाउँछु भन्ने दीक्षितले ८६ वर्षको उमेरमा पनि लघुकथा लेख्नुभयो, दीक्षितका दुईवटा लघु कथा सम्पादन गरेका ज्ञवालीले भने ।
पिता केदारमणि आचार्य दीक्षित र माता विद्यादेवीका माहिला पुत्रको विसं १९८६ भाद्रकृष्ण औँसीका दिन काठमाडौँको गैह्रीधारामारुपमा उहाँको जन्म भएको थियो । संयोगवश बिहीबार पुस कृष्ण औँसीका दिन नै उनको निधन भयो ।
दरबार हाईस्कुल, त्रिचन्द्र बहुमुखी क्याम्पस र बनारस हिन्दू विश्वविद्यालयबाट स्नातकसम्मको अध्ययन पूरा गरेका दीक्षितले विसं २०१६ देखि नेपाली भाषा साहित्यसम्बन्धी ‘नेपाली’ त्रैमासिक पत्रिका सम्पादन गर्दै आएका थिए ।
मदन शम्शेरको सम्पत्तिलाई सदुपयोग गरेर नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा दीक्षितले उल्लेखनीय काम गरेको साहित्यकार तीर्थ श्रेष्ठ बताउछन् । उनकै अग्रसरतामा नेपाली भाषा साहित्यमा उल्लेखनीय योगदान गर्नेलाई प्रत्येक वर्ष मदन र जगदम्बाश्री पुरस्कार प्रदान
गरिन्छ । यो नेपाली भाषा साहित्यमा सर्वाधिक राशीको पुरस्कार हो ।
‘बिपी कोइराला नेपाल–भारत प्रतिष्ठानले वनारसमा आयोजना गरेको नेपाल–भारत नेपाली लेखक सङ्घको सम्मेलनमा हामीसँगै भाग लिन गएका बेला गोरखामा पनि यस्तै सम्मेलन गर्ने सोच बनाउनुभएका दीक्षित नेपाली भाषा साहित्यको उपल्लो दर्जाको सेवक हुनुहुन्थ्यो’– उनले भने ।
उनले साझा यातायातको सञ्चालक, साझा प्रकाशनको सञ्चालक सदस्य र अध्यक्ष, पाटन कलेजको सञ्चालक र अध्यक्ष, पाटन क्याम्पस व्यवस्थापन समिति सदस्य, मदन मेमोरियल गल्र्स हाई स्कुलको सदस्य सचिव, मदन स्मारक मावि अध्यक्ष, नेपाल बैंक लिमिटेड र
विराटनगर जुट मिलको सञ्चालक,
गोरखापत्र दैनिक र प्रेस काउन्सिल नेपालको सदस्य, साल्ट ट्रेडिङ कर्पोरेसनको सञ्चालक, उपाध्यक्ष र अध्यक्ष, गोरखकाली रबर उद्योगको अध्यक्ष, बिपी सङ्ग्रहालय समितिको सदस्यलगायत ४७ सङ्घ संस्थामा बसी सेवा गरेका थिए ।
दीक्षितका प्रकाशित कृतिमा बयस्तो पनि’ (२०१३, ‘कालो अक्षर’(२०१७, ‘बुकी सुन’(२०३६, ‘पर्खदै बित्ला कि’(२०२६, ‘कागतीको सिरप’(२०२६, भूमिकाको सङ्कलन ‘भन्ने कुरा’(२०३१, ‘उखान मिलेन’(२०३७, ‘भवदीय फलानो’(२०५२, ‘साइबर भानु’(२०५७, ‘गुरु दक्षिणा’(२०६२, ‘गुरु भेटी महाकविमा’(२०६६, ‘चमकदार तारा’(२०६८, ‘घात हुनेछैन’(२०६९ र ‘बितेकाहरु’(२०७३ लगायत चर्चित
छन् ।
‘जङ्गबहादुरको बेलायत यात्रा’ र ‘मोतीराम भट्टको प्रियदर्शिका’ लगायत २२ कृति दीक्षितले सम्पादन गर्नुभएको छ । उहाँका विषयमा विभिन्न लेखकले तीन वटा पुस्तक प्रकाशित गरेका छन् । स्व दीक्षितले विसं २०५६ मा निर्माण भएको आदिकवि भानुभक्त चलचित्रमा श्रीकृष्ण आचार्यको भूमिका निर्वाह गरेका थिए ।
दुई छोरा पत्रकार कुन्द दीक्षित र कनकमणि दीक्षित एवम् छोरी रुपा जोशी गरी उनका तीन सन्तान छन् ।
