आफ्नो संस्कृति बचाउनलाई कुलुङहरु सक्रिय

धरान÷ कुनै पनि जातिको पहिचानलाई बचाइराख्न त्यस जातिको भाषा, संस्कृति, रहनसहन, इतिहासलाई जीवन्त राखिराख्न आवश्यक हुन्छ । आफ्नो जातिको अस्तित्व कायम गर्न स्वयम आफू नै सक्रिय हुन आवश्यक छ । हैन भने पुस्तौदेखिको आफ्नो संस्कार विस्तारै हराउदै जाने आफ्नो पहिचान गुम्ने खतरासमेत उत्तिकै रहने गरेको छ । यसलाई महसुस गरी सुनसरीका धरान र बराहक्षेत्रका कुलुङजातिहरुले आफ्नो ठाउलाई कुलुङ गाउ घोषणा गर्ने अभियानमा जुटेका छन् ।
राज्यले समेत आफूहरुलाई आदिवासी जनजातिमा सुसूचिकृत नगरेको आरोप लगाउने उनीहरु आफ्नो अस्तित्वलाई उचाईमा पु¥याउन आ आफ्नो तरिकाले आफ्नो क्षेत्रमा सबै जुटेका हुन् ।
जातिको आधारमा राईभित्र पर्ने कुलुङ जातिहरुले राई इतिहासमा कामको आधारमा दिइएको पद्वी भएकोले राईभित्र पर्ने कुलुङ,, वान्तव, चाम्लिङजस्ता जातिहरुको पहिचान संकटमा परेको बताउँछन् । उनीहरुले राईहरुको जातीय संस्था किरात राई यायोख्खाभित्र आफ्नो आवद्ध नभएको बताउदै राईमध्ये पनि पीछडिएको जाति कुलुङजातिको वृद्धि विकास, अस्तित्व लडाईमा लागेको बताउदै आएका छन् ।
उनीहरुले धरान २६ को बडारे र बराहक्षेत्र गाविस वडा नं. ७ मा पर्ने धापा र चियाबारीलाई समेटेर कुलुङ गाउ घोषणा गर्न तयारीमामा रहेको नेपाल किरात भाषा संस्कृति उत्थान संघका सुनसरी सचिव गंगराम कुलुङ राईले बताउनु भयो । यी तीन गाउमा बस्ने सर्वसाधारण राज्यको हरेक निकायको पहुच बाहिर रहेको बताउनुभयो ।
यी तीन गाउमा जम्मा ३ सय घर परिवार रहेको र जनसंख्याको हिसाबले ७ सय रहेको कुलुङहरुले नै बताएका छन् । कुलुङ जातिहरुको पहिचानका लागि त्यस स्थानमा संग्राहालय स्थापनादेखि उनीहरुले मनाउने गरेको चाड मिनारी दोचाम् चासूम लो फाइम् येलोदोङ
(चाक्चाकुर)को अवसरमा मेला नै लगाउने तयारीमा रहेका छन् । चाक्चाकुर प्रत्येक बर्ष जेष्ठ २९ र असोज ५ गते मनाउने उनीहरुको प्रचलन समेत
रहेको छ । यतिमात्र हैन उनीहरुले आफनै भाषाका गीतहरुको समेत एल्बम निकाल्न थालेका छन् । आफ्नै भाषामा उनीहरु गीतसंगै चाक्चाकुर नृत्य समेत प्रस्तुत गर्ने गर्दछन् ।
उनीहरुले कुलुङ जातिलाई आफ्नो जातिको उत्थानमा राजनीति रगले नछुने समेत सो बेलामा बताएका छन् । कुलुङ भाषा र संस्कृतिको जगेर्नामा विगतदेखि नै लाग्नु भएका भरत कुलुङले राजनीतिक रंगले कुलङहरुलाई नछुने बताउदै आफ्नो भाषा, संस्कृति र पहिचानको लागि एक भएर लाग्ने बताउनुभयो ।
हालसम्म १५ जिल्लामा नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थानसंघको शाखा विस्तार गरिसकेको बताउदै आएको कुलुङहरुको मुख्य कार्यालय भने धरानमा रहेको छ । जस्तोसुकै अवस्थामा पनि कुलुङ जातिको उत्थानमा पछि नपर्ने यसका केन्द्रीय अध्यक्ष चन्द्रसिंह कुलुङले जानकारी दिनुभयो ।
१ सय ३ बर्ष अगाडि अर्थात वि.सं. १९७५ सालमा आफ्ना बाबुबाजेले जंगल फाडेर बसोबास गरेको दाबी गर्ने उनीहरुले यहाबाट चुनाव जितेर गएका सभासदहरुले समेत केही नगरेको बताएका छन् । सनुसरी क्षेत्र नं. ६ अन्गर्तत गर्ने यस स्थानबाट नेकपा एमालेकातर्फबाट भीम आचार्य दोस्रो संविधानसभामा निर्वाचित भएर गएपनि अहिलेसम्म गाउ फर्किएर नगएको
आरोप लगाए ।
आफ्नो संस्थालाई मजबुत बनाउनकै लागि उनीहरुले पुष १२ गते संघको कार्यालय धरान २२ देवीगाउमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने भएका छन् । सोही अवसरमा पौष १६ र १७ गते संघको चौथो राष्टिूय सम्मेलनको आयोजना गरी समुदायलाई अझ क्रियाशील बनाएर अघि बढाउने तयारीमा उनीहरु जुटेका छन् । आफ्नो अस्तित्व जोगाउनलागि परेका कुलुङहरु विभिन्न कार्यक्रमसहित राज्यलाई समेत झकझकाउदै जाने बताउदै आएका छन् । आफनो अस्तित्वका लागि कुनै राजनीतिक रग लगाउन नचाहने पिछडिएका यी जातिहरुको शाहसिक कदमको खुलेरै सबैले प्रशंसा गरेका छन् । लक्ष्यमा पुग्ने उद्देश्यका साथ अगाडि बढेका यी जातिबाट अरुले पनि सिक्ने हो कि ?

तपाईको प्रतिक्रिया