इनरुवा÷सिनेट श्रेष्ठको नेतृत्वमा
रहेको वृहत राष्ट्रवादी मोर्चासँग सहकार्यमा रहेको पूर्व मन्त्री केशरबहादुर विष्टको संयोजकत्वमा रहेको एकीकृत राष्ट्रवादी शक्ति निर्माण अभियानले राजसंस्था र हिन्दुराष्ट्र स्थापनाका लागि आगामी चैत्रदेखि काठमाण्डौ केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ ।
मंसिर २ गतेदेखि एकीकृत
राष्ट्रवादी शक्ति निर्र्माण अभियानका क्रममा झापा, मोरङ हुँदै सुनसरी आइपुगेका विष्टले ३ गते शुक्रबार इनरुवामा आयोजित वृहत भेलामा
राष्ट्रवादीहरुको वृहत मोर्चा गठन गरेर निर्र्णायक आन्दोलन गर्ने बताउनु भएको हो ।
इनरुवा नगरपालिका वडा नं. ४ जिराइतमा राजसंस्था र हिन्दुत्वका लागि वृहत राष्ट्रवादी मोर्चा र अभियानका अभियन्ताहरुले सँगै आन्दोलनमा होमिने सहमति समेत जनाएका थिए । पूर्वमन्त्री विष्टले भन्नुभयो निषेधको राजनीति गर्दै आएकाहरुले मुलुकलाई खोक्रो बनाएकोले निकाशका लागि राष्ट्रवादीहरु एकजुट भएर आन्दोलन गर्नु पर्ने भएको छ । उहाँले थप्नुभयो २०४७ सालको संविधान मान्ने काँग्रेस र एमालेभित्र ठूलो समूह छ । सांसद नेताहरु पनि छन् । विस्तारै उनीहरु पनि आन्दोलनमा आउने विश्वास विष्टले व्यक्त गर्नुभयो ।
वृहत राष्ट्रवादी मोर्चाका संयोजक सिनेट श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त भेलामा अभियानका केन्द्रीय उपाध्यक्ष विष्णु भट्टराई, महामन्त्री घनश्याम गिरी, राप्रपा केन्द्रीय सदस्य गोपाल कोइराला, स्वामी श्रीनिवासाचार्य लगायतले नेपालमा हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्रको अपरिहार्यताका बारेमा बोल्नुभएको थियो ।
