धरान÷ नेपाल चिकित्सक संघको राष्ट्रिय सम्मेलन धरानमा हुने भएको छ ।
सम्मेलन आयोजक समितिले सोमबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी कार्तिक २५ गतेदेखि २७ गतेसम्म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रांगरणमा सम्मेलन हुने जानकारी दिएको छ ।
‘मौलिक स्वास्थ्य अधिकार ः कार्यान्व्यनको प्रत्याभूति’ को
नारासहित आयोजना हुन लागिरहेको राष्ट्रिय सम्मेलनमा नेपालका ८ सय भन्दा बढी चिकित्सकहरुको उपस्थिति रहने नेपाल चिकित्सक संघ धरान शाखाका अर्गनाइजिङ्ग सेकेटरी डा. पशुपति चौधरीले जानकारी दिनुभयो । सम्मेलनमा चिकित्सकीय पद्धतिमा नेपालमा के कति प्रगति भयो, संविधानमा उल्लेख भए अनुसार सम्पूर्ण नेपालीले के कति स्वास्थ्यको प्रत्याभूति पाए र पाएनन् भने के के गर्न सकिन्छ भन्ने विषयमा व्यापक छलफल, गोष्ठीको आयोजना गरिने डा. चौधरीले जानकारी दिनुभयो ।
नेपालमा स्वास्थ्यको पहुच सबैमा पुगोस् र चिकित्सकीय पद्धतिले फड्को मारोस भन्ने उद्देश्यले आयोजना गर्न लागिएको सो सम्मेलनको उद्घाटन नेपाल सरकारका स्वास्थ्यमन्त्री गगन थापाले गर्नुहुने भएको छ भने सम्मेलनमा नेपालका पूर्व राष्ट्रपति
रामवरण यादव, नेपाल पब्लिक हेल्थ फाउन्डेशनका अध्यक्ष तथा चीनका लागि निवर्तमान नेपाली राजदूत डा. महेश मास्के, आम्दा इन्टरनेशनल अध्यक्ष डा. शिगेरु सुगानामी, नेपालका विशिष्ट चिकित्सक प्रा.डा मदनप्रसाद उपाध्याय लगायतको उपस्थिति रहने छ ।
नेपाल चिकित्सक संघको २७ औं सम्मेलनको सफलतापूर्वक सम्पन्नका लागि अहिले अडिटोरियम हल अगाडिको प्रांगरणमा स्टल बनाउने काम भइरहेको छ । प्रतिष्ठानमा भने यसभन्दा अगाडि सन् २००३ मा सम्मेलनको आयोजना भएको थियो भने १३ बर्षको अवधिमा पुनः प्रतिष्ठानमा चिकित्सक संघको राष्ट्रिय सम्मेलन आयोजना हुन लागेको हो ।
