नेपालको शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको कार्तिक १७देखि १९ सम्मको तीनदिने नेपालको राजकीय भ्रमण सम्पन्न भएको छ । बीस बर्ष यता भारतका कुनैपनि राष्ट्रपतिले नेपालको भ्रमण गरेका थिएनन् । जसका कारण मुखर्जीको भ्रमण सर्वाधिक चर्चामा रहयो ।
तर मुखर्जीको भ्रमणताका केही व्यक्ति, समूह तथा राजनैतिक पार्टीले जुन विरोधको चरित्र प्रदर्शन गरे त्यो स्वभाविक होइन । पाहुनालाई बोलाइसकेपछि उसको आथित्यमा कुनै कसर बाँकी राख्नु हुँदैन । त्यसैपनि हाम्रो मान्यता छ अतिथि देवो ः भव ।
जब मुखर्जी कार्तिक १७ गते बुधबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा उत्रनुभयो ग्रेटर नेपाल नामको एउटा कथित समूहले विरोधस्वरुप कालो झण्डा देखाउने योजना बनायो र त्यसलाई सार्वजनिक ग¥यो । आखिरी मुखर्जीको
विरोध के का लागि ? कालो भण्डा देखाउने भए नेपालकै
राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाललाई देखाउनुपर्ने थियो । भारतीय राष्ट्रपति मुखर्जी उहाँहरुकै निमन्त्रणामा नेपालको तीनदिने भ्रमणमा आएका हुन् । मुखर्जीको विरोधको अर्को श्रृंखला पोखरामा पनि देखियो । जहाँ मुखर्जीको स्वागतार्थ बनाइएको गेट प्रहरीको भनाइलाई आधार मान्दा अज्ञात समूहले एक दिन अगाडि नै भत्काइदियो । प्रहरीले पुनः त्यही स्थानमा नयाँ गेट बनायो । तर भ्रमणका समयमा एउटा उच्छृंखल समूहले बेलुनमा कालो झण्डा गाडेर आकाशमा उडायो ।
हेर्दा र सुन्दा सामान्य लाग्ने यस्ता प्रवृत्तिले कसैको पनि हित गर्दैन । मुखर्जीको विरोध औचित्यहीन हो । मुखर्जीको विरोध
गरेर हामीले आफूलाई निरिहता सावित गरेका छौं । आज भारतले हरेक क्षेत्रमा गरेका अपत्यारिला विकासका कार्यहरुको यहाँ पनि साथ र सहयोग आवश्यक छ, हामी पनि अग्रपंक्तिमा अगाडि बढ्नुपर्छ भन्ने सोच न यहाँका राजनैतिक दल, सरकार र बुद्धिजीविहरुमा देखिएन । केवल विरोध गर्नु हामो संस्कार बनिसकेको छ । छिमेकीको विरोध गर्दा उपल्लो स्तरको
राष्ट्रवादी भइने सोचले नेता, सरकार, कथित बुद्धिजीविको मनमा डेरा गरेको छ । एउटा शक्ति सम्पन्न राष्ट्रका राष्ट्रपति आउँदा हाम्रा आवश्यकता जुन दीर्घकालीन ढंगका छन् त्यसलाई पस्कन सक्नुपथ्र्यो । हाइड्रो, पर्यटन, कृषि आदि क्षेत्रमा खाका तयार गर्नुपर्ने थियो । तर त्यो केही भएको देखिएन ।
वर्तमान सरकारले केवल भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सुरक्षा संवेदनशीलता मात्र देख्यो । अनावश्यक रुपमा सडकमा सुरक्षाकर्मी थुपारेर सरकारले एक प्रकारको भीड आतंक मच्चाउने काम मात्र ग¥यो । त्यसैपनि राजधानीका सडक घिनलाग्दा र साँघुरा छन् । अझ सुरक्षाका नाममा सर्वसाधारणलाई पैदलसम्म हिड्न बञ्चित गर्नुले सरकार आफै सुरक्षा व्यवस्थामा खलल पु¥याउन उद्यत रहेको देखियो । अर्थात सर्वसाधारणलाई आक्रोसित बनाउने काम सरकार स्वयम्ले ग¥यो । मुखर्जीको भ्रमणताका ट्राफिकहरुको अदक्षता छताछुल्ल भयो । सुरक्षासँगै ट्राफिक व्यवस्थामा चुस्तता दिएको भए उचित हुने थियो । जे होस् मुखर्जीको भ्रमणले नेपाल र भारतबीच एउटा सुमधुर सम्बन्ध स्थापित गर्न सहयोग पुग्ने कुरामा आशंका भने रहेन ।
