धरान/ लगातारको बर्षाले प्रयाप्त मात्रामा कृषि जन्य वस्तु आयात नभएको वहानामा धरानमा सब्जीजन्य वस्तुको भाउ आकासिएको छ ।
करिब दुई साता लामो अविरल बर्षाका कारण सुख्या कृषिजन्य वस्तुमा भन्दा पनि हरियो सागसब्जीको भाउ दोब्बर बनेको छ । लगातारको बर्षाले निम्त्याएको बाढी, पहिरोले कृषकहरुले उत्पादन गरेको कृषिजन्य वस्तु पूर्वको एकमात्र बजार धरानस्थित कृषि उपज बजारमा प्रसस्त सब्जी नआएकै कारण मूल्य दोब्बर पुगेको कृषि उपज बजार सञ्चालक समितिले जानकारी दिएको छ ।
एक साता अगाडि थोक मूल्यमा २५ देखि २७ रुपैया पर्ने टामाटारको भाउ अहिले ४५ रुपैयादेखि ५२ रुपैयासम्म व्यापारीले किनेर लाने गरेको कृषि उपज बजार सञ्चालक समितिका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिनुभयो । त्यस्तै एक साता अगाडि ५० देखि ६० रुपया पर्ने गाजर १ सय २० देखि १ सय २५ रुपैया, एक साता अगाडि मुला २५ देखि २६ रुपैया पर्ने मुलाको होलसेल मूल्य अहिले ३५ देखि ४० रुपैया, ३५ देखि ४० रुपैया पर्ने फूलकोवीको मूल्य अहिले ६० देखि ८० रुपैयामा विक्री हुने गरेको व्यवस्थापक भट्राईको भनाई छ । समग्रमा सु्ख्खा आइटममा भन्दा पनि हरियो सागसब्जीमा लगातारको बर्षाका कारण दोब्बर मूल्य वृद्धि भएको व्यवस्थापक भट्टराईले जानकारी दिनुभयो । बर्षादका कारण पहिरो र बाढीका कारण जोखिम मोलेर कृषकहरुले कृषिजन्य वस्तु ल्याउनुपर्ने बाध्यता भएकोले कम परिणाममा सब्जी भित्रिएकै कारण यस्तो अवस्था आएको उहाको भनाई छ । बर्षाद लागेसंगै सब्जीको आयात निर्यात नै घटेको उहाको भनाई छ । सहज अवस्थामा १ सय ५० मेटिक टन हरियो सब्जी भित्रिने कृषि बजारमा बन्द, हड्ताल, बर्षादको समयमा १ सय मेटिक टनमात्र भित्रिने गरेकोले माग धान्न नसक्दा मूल्य अत्याधिक बढेको व्यवस्थापक
भट्टराईको भनाई छ । यता खुद्रा व्यापारीले समेत मूल्य बढेर आएको कारण आफूले बढी मूल्यमा सागसब्जी बेच्ने गरेको बताउदै आएका छन् । पालिका
तरकारी बजार धरान ३ का खुद्रा व्यापारी मनोज श्रेष्ठले बर्षादका समयमा हरियो सब्जीको मूल्य अध्याधिक बढेको बताउनुभयो । यसको प्रमुख कारण बर्षाद नै भएको उहाको समेत भनाई छ । सब्जीको मूल्य अत्याधिक बढेसंगै सर्वसाधारण सबैभन्दा बढी मारमा पर्ने गरेका छन् । दैनिक उपभोग्य वस्तुको रुपमा रहेको हरियो सागसब्जीको मूल्य एक साता अगाडिको मूल्यभन्दा दोब्बर तिरेर खरिद गर्नुपर्दा गुजारा चलाउदै गाह्रो भएको उपभोक्ताहरुको भनाई छ ।
धरानमा कोशी पहाडी जिल्ला भोजपुर, धनकुटा, तेह्रथुम, संंंखुवासभा, खोटाङ, उदयपुर, सुनसरी र मोरङका पहाडी जिल्लाबाट सब्जीजन्य पदार्थ भित्रिने गरेको छ भने यहाबाट नेपालका विभिन्न स्थान र भारतमा समेत निकासी हुने गरेको छ ।
