जगजितको टोली विजयी

काठमाडौं/ नेपाली राष्ट्रिय टोलीका पूर्व मिडफिल्ड स्टार जगजित श्रेष्ठ आवद्ध भएयता अस्ट्रेलियाको भिक्टोरिया स्टेड लिग २ मा ह्युम युनाइटेड पराजित भएको छैन । जगजितको प्रभावशाली प्रदर्शनबाट टोलीले शनिबार लगातार तेस्रो खेलमा विजय हासिल गरेको छ । लियोन र डेलफिनको समान २ गोलमा ह्युमले शनिबार रेलिगेसनबाट जोगिन संघर्षरत सनबुरी एफसीलाई ४–१ ले हराएको थियो। डेलफिनका दुवै गोलमा जगजितले पास निकालेका थिए । जगजितको पासमा डेलफिनले दसौं मिनेटमा पहिलो र दोस्रो हाफको पहिलो मिनेटमा अर्को गोल गरेका थिए । लियनले पहिलो गोल पेनाल्टीमा र अर्को गोल दोस्रो हाफमा गरेका थिए ।
’एउटा खेलाडी सधै टोलीलाई जित दिलाउने प्रयासमा हुन्छ,’ जगजितले भने, ’त्यसमा आफैले गोल गर्नु नगर्नु अर्को पाटो मुख्य विषय होइन । तीनै खेलमा मेरो प्रदर्शन राम्रो भइरहेको छ । मैले आफ्नो तर्फबाट शतप्रतिशत मिहिनेत गरेको छु । म खुसी छु । क्लब पनि मबाट खुसी नै पाएको छु ।’ मासिक १ हजार ५ सय अमेरिकी डलर पाउने सहमतिमा चार महिनाका लागि उनी तीनसाता अघि ह्युममा आवद्ध भएका थिए ।
जितपछि पनि १२ टोली सम्मिलित लिगमा ह्युम छैटौं स्थानमा यथावत रहेको जगजितले जानकारी गराए । क्लबका लागि अघिल्ला दुवै खेलमा जगजितले गोल गरेका थिए । ‘डेब्यू’ खेलमा उनले २ गोल गरेका थिए भने दोस्रो खेलमा १ गोल गरेका थिए ।

तपाईको प्रतिक्रिया