घरेलु तथा साना उद्योग कार्यालय इटहरीको वार्षिक कार्यक्रम अन्तर्गत धरान ७ शान्तिपथ स्थित रहेको डिप्लोमा हेन्डिक्राप्ट्स तालिम केन्द्रमा भएको एक महिने तालिमको समापन गरिएको छ ।
जेष्ठ २५ देखि असार ३१गतेसम्म सञ्चालित गुडिया बनाउने तालिम र असार १ गतेदेखि असार ३१ गतेसम्म ढाका टोपी सिलाई तालिमको एक कार्यक्रमबीच समापन गरिएको हो ।
उद्योमी महिलाहरुको क्षमतामा विकास होस् भन्ने उद्देश्यले घरेलु तथा साना उद्योग कार्यालय इटहरीले विभिन्न उद्योमी महिला तथा सघ संस्थाहरुमार्फत तालिमको आयोजनासंगै विविध सहहयोग गर्ने गरेको छ । यसैक्रममा कार्यालयले कर्मशील लघु उद्योगी समूह धरान १६ लाई ३ थान डेक्ची, बाटा १ थान, डाइमन गुडिया समूह धरानलाई बडी सिलाई मेसिन २ थान, इम्ब्रोइडरी (कढाइ) महिला समूह धरान ८ लाई इम्ब्रोइडरी मेसिन र मोटर, सिर्जनशील ड्रेस डिजाइन समूहलाई बडी सिलाई मेसिन तीन थान, प्रगति ढाका टोपी समूह धरान १६ लाई ढाका टोपी बुन्ने तान वितरण गरेको थियो ।
धरान उपमहानगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख सुनिल नेपालको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका महासचिव शिवराज श्रेष्ठले उद्यमी महिलाहरुलाई शुभकामना सहित तालिम सिकेर त्यसको सदुपयोग गर्न सबैलाई आग्रह गर्नुभयो । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख एवम् कार्यक्रमका अध्यक्ष अर्जुन निरौलाले तालिमपश्चात सबैलाई सफल उद्यमी बन्न सकून भन्ने शुभकामना व्यक्त गर्नुभयो । धरान उपमहानगरपालिकाले उद्योगी महिलाहरुको उत्पादनलाई ध्यानमा राखी भविष्यमा धरानमा कोशेली घर निर्माण गर्न लागेकोमा खुशी व्यक्त गर्दै यस कार्यमा कार्यालयले विशेष पहल र सहयोग गर्ने बताउनुभयो । तालिममा १५ जना भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो ।
