सिनेमाण्डुको २६ औं संस्करण राजधानीमा सम्पन्न

बीपी कोइराला भारत नेपाल फाउन्डेशन, भारतीय राजदुतावासको आयोजनामा सिनेमाण्डुको २६ औं संस्करण राजधानीमा सम्पन्न भएको छ ।
फाउन्डेशनले नियमित रुपमा सिनेमाण्डु, पोयमाण्डु, कन्भरसेसन जस्ता कार्यक्रमबाट कला, सास्कृति र बौद्धिकताका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको छ । भारत वंगालका प्रख्यात फिल्ममेकर सत्यजित रे द्वारा निर्देशित फिल्म रविन्द्रनाथ टैगोर फिल्म सिनेमाण्डुको नियमित संस्करणमा प्रदर्शन गरिएको थियो ।
फिल्ममेकर सत्यजित रे ले सन् १९६१ मा निर्देशन गरेको श्यामश्वेत फिल्ममा नोबल पुरस्कार विजेता विख्यात कवि एवम् साहित्यकार रविन्द्रनाथ टैगोरका दुर्लभ तस्विर, दुर्लभ भिडियो, उनले लेखेका र उनलाई अन्य प्रतिष्ठित व्यक्तिहरुले लेखेका पत्रहरु, टैगोरका बाल्यकालदेखि जीवनका अन्तिम अवस्थासम्मका गतिविधिलाई फिल्ममा समावेश
गरिएको छ । विख्यात कवि एवम् साहित्यकार टैगोरको बाल्यकाल, युवा अवस्था, ढल्कदो उमेर, वृद्धाअवस्था तथा परिवारका अन्य सदस्यहरुको भूमिका विभिन्न कलाकारहरुले उस्तै र दुरुस्तै प्रस्तुति दिएका छन् । अर्थात् फिल्ममा टैगोरको जीवनका हरेक पक्षलाई आकर्षक ढंगले चित्रण गरिएको छ । फिल्मको सबैभन्दा सवल पक्ष भनेको टैगोरको विश्वमै चर्चित कृति गितान्जली, अनुवादको प्रसंग, अल्वर्ट आइस्टाइन लगायत विश्व विख्यात व्यक्तिहरुसागको सम्बन्धलाई पनि फिल्ममा उठाइएको छ । सन् १८६१ मा जन्मिएका रविन्द्रनाथ टैगोरको जन्म जयन्तिको अवसर पारेर फिल्म प्रदर्शन गरिएको हो ।
सो अवसरमा नेपाली फिल्म निर्देशक प्रकाश सायमीले रविन्द्रनाथ टैगोरको साहित्यबाट नेपाली साहित्य समेत प्रभावित भएको, उनका कालजयी कृतिहरु सदैव जीवन्त रहने बताउनुभएको थियो । बीपी कोइराला भारत–नेपाल फाउन्डेशनकी सचिव रुवि जसप्रित शर्माले नेपाल भारत बीचको सास्कृतिलाई अझ परिस्कृत गर्दै प्रचार प्रसारका लागि कार्यक्रम आयोजना
गरिएको बताउनुभयो । कार्यक्रममा नेपालका दर्जनौ साहित्यकार, लेखक, कवि तथा कवियित्रीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया