इटहरी/इटहरी उप महानगरपालिका वार्ड नं.८ का स्थायी निवासी फरक क्षमताका सशक्त तथा प्रतिभाशाली कवि वियोग सापकोटाको ‘वियोग सापकोटाका कविता’ नामको कृति शनिबार इटहरीमा प्राज्ञ तथा प्रसिद्ध समालोचक दधिराज सुवेदीले विमोचन गरेका छन् । ६३ वटा कविता समावेश गरिएको सो कृति अभियन्त टोल विकास संस्था इटहरी ८ र प्रगतिशील लेखक संघको संयुक्त सहकार्यमा प्रकाशित भएको हो । स्रष्टा केशव कुमार सुनामको अध्यक्षतामा भएको कार्यक्रममा सशक्त नारी हस्ताक्षर गंगा सुवेदी, झमक घिमिरे कला साहित्यप्रतिष्ठान,धनकुटाका अध्यक्ष गोपाल गुरागाईं, प्रलेस मोरङ, अध्यक्ष वैजयन्ती मिश्र, प्रसिद्ध स्रष्टा ऋतु आसिक, लमजेल संघर्षशील,समालोचक वासुदेव तिम्सिना अभियन्त टोल विकास संस्थाका अध्यक्ष उमानाथ भण्डारी कवि वियोग व्यक्तित्व, कृतित्व र कार्यक्रमको महत्ताका बारेमा बोलेका थिए । कविका प्रकाशित केही कविता र उनले लेखेका गीतमा संगीतबद्ध स्वरहरु प्रस्तुत गरिएको थियो । प्रसिद्ध युवा संगीतकार तथा गायक बालकृष्ण सिग्देल, मोहन तिम्सिना,अन्जु गौतमले गाएका थिए । बहुआयामिक निर्झर,उर्वर, अवाक् प्रतिभाशाली व्यक्तित्व वियोगको विशिष्ट क्षमता रहेको यस कृतिका सम्पादक प्रा.डा. बऽीविशाल पोखरेलले मन्तव्यका क्रममा बताए । कृति स्थानीय टोलबासीहरुले सामूहिक द्यौसीभैली खेलेर जम्मा भएको करीब चालिस हजारको लागतमा प्रकाशित भएको समितिका सदस्य शालीग्राम पाण्डेले बताए । १२०० प्रति प्रकाशित कृति संस्थागत र व्यक्तिगत दुई शुल्कमा बिकी वितरण गरेर कविका अरु कृति प्रकाशनमा ल्याउने सोच रहेको कविका बाल्य सखा तथा समिति सदस्य टंकप्रसाद घिमिरेले उल्लेख गरे ।
