धरान/ आफ्नो भवन नभएर बर्षौदेखि अर्काको भवनमा भाडामा बस्दै आएको नेपाल पत्रकार महासंघ सुनसरीले अब भने आफ्नै भवनबाट कार्य सम्पादन गर्न पाउने भएको छ ।
धरान १२ चतरालाइनको पब्लिक उच्च माविको भवनमा कोठा भाडामा लिएर काम गर्दै आएको महासंघले धरान उपमहानगरपालिकाले धरान १३ अमर हाटमा जग्गा र तीनकोठे घर उलब्ध
गराएसंगै सोमबारबाट विधिवत रुपमा महासंघको कार्यालय त्यस स्थानमा
सरेको हो ।
नव निर्मित भवनमा धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राई लगायत समाजसेवी र महासंघका पूर्व अध्यक्षहरुले संयुक्त रुपमा नरिवल फोडेर भवन सञ्चालनमा ल्याइएको हो ।
पञ्चायतकालीन अवस्थामा ठूला ओहादामा रहेका अफिसर्सहरुले गठन
गरेको अफिसर्स क्लव सञ्चालन भएको यो भवनमा अस्थायी प्रहरी विटको रुपमा प्रयोग गरिदै आएको थियो ।
अमरसेवा समाजको पहलमा र धरान उपमहानगरपालिकाको प्रयासमा अन्तत : महासंघ सुनसरीले आफ्नै भवन पाप्त गर्न सकेको हो । प्रवेश कार्यक्रममा बोल्दै धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले धरानलाई राज्यले समेत उपेक्षित गरेको समयमा नेपाल पत्रकार महासंघ सुनसरीको कार्यालय धरानमै रहनु गौरवपूर्ण रहेको बताउनुभयो । राज्यका तहमा बसेकाहरुले समेत धरानमा रहेका सरकारी कार्यालयहरु धमाधम अन्यत्र लगेको समयमा महासंघको सुनसरी कार्यालयलाई धरानमा स्थापित गर्नु धराने जनताको लागि हर्षको विषय भएको समेत स्पष्ट
पार्नुभयो ।
उहाले महासघको नाममा भवन ल्याउन अझै प्रक्रिया बाकी रहेकोले प्रक्रियाका लागि धराने जनता, धरानका स्थानीय राजनीतिक दलका नेताहरुलाई आग्रह समेत गर्नुभयो ।
अत्यन्तै एकान्त स्थानमा रहेको
अमरहाटमा नेपाल पत्रकार महासंघ सुनसरीको कार्यालय आउनुमा अमरहाटबासीको हर्षको सीमा नरहेको अमरसेवा समाजका अध्यक्ष हरि लिम्बुले बताउनुभयो । उहाले महासंघको भवन आएसंगै लागू औषधको अखडा रहेको यस स्थान सुधार भएर जाने अपेक्षा समेत गर्नुभयो ।
धरानको विकासमा पत्रकारहरुले खेलेको भूमिकालाई मुल्यांकन गर्दै बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.ले इन्द्र
बराह स्मृति भवन निर्माणका लागि १० लाख रुपैया सहयोग गरेको
बताउनुभयो ।
नेपाल पत्रकार महासंघ
सुनसरीका सभापति केशव घिमिरेले पूर्वाञ्चलकै प्रतिनिधि गर्ने सुनसरीका पत्रकारहरुका लागि यो महत्वपूर्ण योगदान रहने बताउनुभयो ।
भवन प्रवेश कार्यक्रममा अग्रज पत्रकार हर्ष सुब्बा, कृषि उपज बजार सञ्चालक समितिका कर्मचारी नेत्र काफ्ले, नेपाली कांग्रेस धरान नगर समितिका सभापति किशोर राई लगायतले राज्यको चौथो अंगको रुपमा रहेको सञ्चार जगतको विकासका लागि धराने जनता क्रियाशील रहने बताउनुभयो ।
