धरान/ मोरङ को सिसुपानी वडा नं. ५ मा आइतबार राति गोली लागि घाइते भएका एकजनाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
आइतबार राति १२:३० को समयमा ५/६ जना बन्धुकधारीको समूहमा आएका अज्ञात समूहले आफ्नै घरमा सुतिरहेको अवस्थामा ५५ बर्षीय र रामप्रसाद मण्डललाई गोली प्रहार गरेका थिए । देव्रे छातीमा गोली गोली लागी घाइते भएकाउनलाई विराटनगरको गोल्डेन अस्पतालमा उपचारका लागि तत्काल लगिएको भएपनि त्यहा उपचार हुन नसकेपछि प्रतिष्ठानमा ल्याइएको छ ।
विहान ८ बजे प्रतिष्ठानको आकस्मिक कक्षमा ल्याइएको उनलाई शल्यक्रियामार्फत गोली निकाल्नुपर्ने भएकोले अहिले शल्यक्रिया विभागको युनिट १ को वेड नं. ९ मा राखेर उपचार गरिएको छ । उनलाई लागेको गोली अहिलेसम्म निकालिएको छैन । घाइतेको अवस्था गम्भीर भएपनि समयमै गोली निकाल्न सके ठूलो क्षति व्यहोर्नुनपर्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । गाउमा धामी झाक्रीको काम गर्दै आएका मण्डललाई एक्कसी रातको समयमा ५/६ जनाको समूह आएर आफूलाई गाली गलौज गरी श्रीमानलाई सुतिराखेको ठाउबाट उठाई गोली प्रकार गरेको घाइतेकी श्रीमति चम्पादेवी मण्डलले बताउनुभयो ।
उहाले आफ्नो कसैसंग दुश्मन नभएकोले गोली हान्ने व्यक्तिहरुको समेत पहिचान गर्न नसक्ने बताउनुभयो । यता प्रहरीले भने गोली प्रहार गर्नेको खोजी कार्य जारी रहेको बताएको छ ।
