मधेशी मोर्चाको आन्दोलनका कारण औषधि आउन नसक्दा वीपीमा हुने शल्यक्रिया समेत प्रभावित

धरान/ लामो समयदेखि मधेशी मोर्चाले गरेको आन्दोलन र भारतले
गरेको नाकाबन्दीका कारण शल्यक्रिया गर्न चाहिने अति आवश्यक औषधी नेपाल भित्रिन नसक्दा धरानस्थित वीपी
कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने स्त्री रोग सम्बन्धीका नियमित शल्यक्रिया रोकिएको छ ।
चार हप्ता अघि देखि शुरु भएको औषधी अभावले वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री रोग सम्बन्धीका करिब ४० वटा शल्यक्रिया रोकिएका छन् । शल्यक्रिया गर्नु पर्ने बिरामीहरु लामो समय कुर्नु पर्ने भएकाले काठमाडौं, भारत तर्फ जान बाध्य भएका छन् । शल्यक्रिया गर्दा चाहिने एन्टिबायोटिक, स्लाईन र रगत बग्न कम गर्ने अक्सीटोसिन जस्ता औषधीहरुको अभावमा शल्यक्रियाको समयावधी लम्ब्याउनु परेको छ । शल्यक्रियाका लागि चाहिने गुणस्तरिय औषधीको अभावले शल्यक्रियाको समय रद्द गर्नु परेको प्रतिष्ठानका स्त्री रोग विशेषज्ञ डा.मोहन चन्द्र रेग्मीले बताउनुभयो ।
स्त्री रोग सम्बन्धिका नियमित शल्यक्रिया रद्द गरिए पनि प्रसुती शल्यक्रिया भने भइरहेको छ । समय लम्बिएका बिरामीहरुको शल्यक्रिया नाकाबन्दी नभएको भए नियमित शल्यक्रिया गर्नु पर्ने बिरामीहरु हुन् । औषधीको अभावले शल्यक्रिया गर्नुपर्ने रोगहरुलाई समय लम्बिदा उपचारका फरक परेको डा. रेग्मीको भनाई छ । एन्टिबायोटीककै अभावले बिरामी उपचार नभई अकालमै ज्यान गुमाउनु पर्ने अवस्था आउन लागेको प्रति चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया