धरान/नेपाली कांग्रेस १ नं. क्षेत्रीय समितले मौलिक एवम् परम्परागत रुपमा देऊसी खेलेका छन् । पछिल्लो समयमा आएर देउसीको मौलिकता र धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वलाई भुल्दै अनावश्यक तडकभडकका र विकृति हावी भएको भन्दै कांग्रेसले यसको मौलिकताको जगेर्ना गर्न चेतनामूलक देउसी खेलेको देउसी भैलो कार्यक्रमका संयोजक एवम् क्षेत्रीय सचिव सुजेन्द्र तामाङले बताए । उनका अनुसार धरानका १, २, ४, ६, ७, ८, ९, ११, १३, १४, १६, १८ नं. वडाहरु र पांचकन्यामा परम्परागत शैलीमा दौरासुरुवाल, टोपी, फुलमाला लगाएर आफै भट्टाउने, मादल, बांसुरी, घुंगरु बजाउने, नेपाली लोकसंस्कृतिमा आधारित गीत गाउने, नाच्ने गर्दै देउसीको मौलिक संस्कृति झल्काउने गरी देउसी खेलिएको बताइएको छ ।
आजभोली युवा पुस्ताले रेकर्ड गरिएको गीत र पश्चिमी संस्कृतिलाई देउसी भैलोमा समावेश गर्न थालेपछि परम्परागत चाडपर्व र संस्कृतिको मौलिकता नै संकटमा पर्न थालेकाले देउसीको मौलिकता एवम् ऐतिहासिक महत्व र मर्मलाई उजागर गर्ने उद्देश्यले यसरी देउसी खेलिएको तामाङले बताए ।
